काठमाडौँ, वैशाख २२ गते । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अब बस्ती विकास गर्दा त्यहाँ बस्नेहरूका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्नेमा बताउनुभएको छ ।
राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै उहाँले बस्ती मात्र बनाएर नहुने भन्दै त्यहाँ बस्नेहरूका लागि आर्थिक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
‘‘व्यवस्थित आवास बनाउँदा बनाउनका लागि मात्र बनाएर हुँदैन भन्ने कुरा यो भन्दा अघिको उदाहरणबाट पाठ सिक्नुपर्छ । जग्गा विकास पनि गर्नुछ । न्यूनतम रूपमा मानिसहरूलाई आवश्यक पर्ने आयआर्जन गर्नसक्ने गरी अब बस्ती विकास हुनुपर्छ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
त्यस्तै, उहाँले बस्ती विकास गर्दा सो स्थानको मौसमलाई ध्यान दिएर र स्थानीय मौलिक स्रोतसधानकै प्रयोग गरेर बनाउनुपर्ने पनि बताउनुभयो ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले सरकारले राष्ट्रिय आवास कम्पनीलाई विशेष महत्त्व दिलाएको पनि बताउनुभयो । सरकारको आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रममा व्यवस्थित आवास र जग्गा विकासको विषय पर्नुले पनि सरकारले प्राथमिकतामा राखेको भन्दै व्यवस्थित बस्ती विकासमा कम्पनीको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । बस्ती विकास गर्दा समुदायलाई आवश्यक पर्ने विषयहरूमा ध्यान दिँदा राम्रो हुने भन्दे तयसतर्फ ध्यान दिन कम्पनीलाई सुझाव दिनुभयो ।
‘‘जनताको अपेक्षा धेरै छ । कम्पनीमा रहेका कमजोरी हटाएर जनअपेक्षाअनुसार काम गर्नततर्फ ध्यान दिनुहोला,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।