• २२ वैशाख २०८२, सोमबार

रामारोशनको पर्यटन प्रवर्धन गर्न महोत्सव

blog

पत्रकार सम्मेलन मार्फत महोत्सवको बारेमा जानकारी दिँदै आयोजक समिति । तस्बिरः शिवराज ढुङ्गाना

शिवराज ढुङ्गाना 

अछाम, वैशाख २२ गते । मनमोहक र सुन्दर रामारोशन पर्यटकीय क्षेत्रको प्रवर्धन र विकासका लागि रामारोशन महोत्सवको तयारी थालिएको छ । ‘बाह्रबण्ड अठारखण्ड’ ले परिचित प्रसिद्ध पर्यटकीय स्थानको प्रचारका लागि वैशाख २५ देखि ३१ गतेसम्मका महोत्सवको आयोजना गरिने भएको हो । 

महोत्सवमा स्थानीय कला तथा संस्कृतिसहितका विभिन्न सांस्कृतिक प्रर्दशन, कृषि प्रदर्शनी, परम्परागत खेलकुद, फोटो प्रदर्शनी र पर्यटकीय पदयात्राबाट रामारोशन क्षेत्रको प्रचारप्रसार गरिने बताइएको छ । “प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो रामारोशन क्षेत्रलाई चिनाएर देश–विदेशका पर्यटक भित्राएर आर्थिक समृद्धिको लक्ष्यले महोत्वको आयोजना गर्दै छौँ ।” महोत्वस आयोजक समितिका संयोजक जनक साउँदले भन्नुभयो । 

स्थानीय उत्पादनको बजार प्रवर्धन तथा युवा पुस्तामा पर्यटनप्रति आकर्षण बढाउन समेत महोत्सव सफल रहने बताइएको छ । 

स्थानीय उत्पादनका परिकार, स्वास्थ्य र सुरक्षाको प्रबन्ध समेत गरिसकिएको संयोजक साउँदको भनाइ रहेको छ । मुजाबगरमा आयोजना गरिने महोत्सवले पर्यटकीय क्षेत्र रामारोशनमा आन्तरिक र बाह्य पर्यटकका लागि घुमफिरमा सहजता हुने बताइएको छ । आयोजक पक्षका अनुसार महोत्सव अवधिमा रामारोशन क्षेत्रको बारेमा विस्तृत जानकारी दिने भएकोले सबैले लाभ लिन अनुरोध गरेको छ।  

महोत्सवबाट सङ्कलन गरिएको रकम हालै आगलागीबाट प्रभावित जयगढ र साँफेबगरका आगलागी पीडितहरूको राहतमा सहयोग गर्ने आयोजक पक्षको भनाइ छ । महोत्सवलाई नेपाल पर्यटन बोर्ड, रामारोशन गाउँपालिका सहितका स्थानीय तहहरू र अन्य निकायको सहकार्य रहने छ ।