• १६ असार २०८१, आइतबार

मधेश प्रदेश सभाबाट नीति तथा कार्यक्रम पारित

blog

प्रदेश सभामा मुख्यमन्त्री राउतले नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्नुहुँदै । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, जेठ २५ गते । मधेश प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ । प्रदेश सभाको नवौं अधिवेशनको बुधबार बसेको पाँचौ बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रदेश सभामा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभा सदस्यहरुले छलफलमा उठाउनुभएको प्रश्न र पाँच जना प्रदेश सभा सदस्यहरुले दर्ता गराउनुभएको संशोधन प्रस्तावलाई सम्बोधन गर्नुभएको थियो । त्यसपछि मुख्यमन्त्री राउतले नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्दा सर्वसम्मतले पारित भएको सभामुख सरोजकुमार यादवले जानकारी दिनुभयो । 

यस्तै, सोही बैठकमा प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विनियोजन विधेयक २०७९ को सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा नीति प्रस्तुत गर्नुभएको छ । त्यस्तै, गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश सञ्चार ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् प्रस्तावलाई बैठकमा सर्वसम्मत स्वीकृत दिएको सभामुखले जानकारी दिनुभयो । सो ऐनसम्बन्धी संशोधन प्रस्ताव २६ गते दर्ता गराउन प्रदेश सभा सदस्यहरुलाई समय निर्धारण गरिएको थियो । प्रदेश सभाको अर्को बैठक २७ गते ११ बजे बस्ने गरी स्थगित भएको छ ।