• २१ वैशाख २०८२, आइतबार

एमाले सचिवालय बैठक : बजेट ठोस र परिमाणमुखी ल्याइनुपर्ने

blog

पार्टीकाे केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको नेकपा (एमाले) सचिवालय बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, वैशाख २१  गते। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ। 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकमा आगामी आर्थिक वर्षको सन्दर्भमा छलफल भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। उहाँले बैठकमा नेताहरुले बजेट ठोस र परिमाणमुखी हुनुपर्नेमा जोड दिएको बताउनुभयो।  

“मूलतः नीति तथा कार्यक्रमले भनेजस्तै बजेट पनि ठोस र परिमाणमुखी होस्। विगतमा योजनाको छनौट स्रोतको विन्यास र योजनाको प्राथमिकतामा भद्रगोल देखिएको छ,” उहाँले भन्नुभयो,  “विगतमा भएको अव्यवस्थालाई चिर्दै बजेट आओस्। सङ्घीय सरकारले राष्ट्रियस्तरका  योजनामा केन्द्रित हुनुपर्ने बाँकी योजना प्रदेश र स्थानीय तहलाई दिनुपर्ने भन्ने कुरामा जोड दिइएको छ।”

यसैगरी, बैठकले बजेट उत्पादन र उत्पादत्वमा केन्द्रित हुनुपर्ने नेताहरुले सुझाव दिएका छन्। उपमहासचिव ज्ञवालीले कृषि क्षेत्रका सघन क्षेत्र निर्माण गरेर किसानलाई जमिन, प्रविधि, बजार र बचतमा जोड दिँदै उनीहरुको आम्दानी बढाउने र मुलुकलाई आत्मनिर्भरतामा बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने सुझाव प्राप्त भएको उहाँले बताउनुभयो। 

उपमहासचिव ज्ञवालीले बजेटमा ‘जेन–जी’ पुस्तालाई केन्द्रमा राखेर उद्यमशीलता, उद्यममा क्रियाशील बनाउँदै जेन–जीसँगैको सहकार्यमा सूचना प्रविधिको विकासलाई अगाडि बढाउन बैठकमा छलफल भएको बताउनुभयो। 

यसैगरी, बदलिँदो भूराजनीतिकले गर्दा अन्तरराष्ट्रिय सहयोग कटौती भएको र ठेक्का लागेका योजनामा दाताहरुले हात झिक्ने अवस्थाले गर्दा सरकारको दायित्व झन् थपिने भन्दै त्यसलाई ध्यानमा राखेर योजनाको प्राथमिकता गर्न पार्टीले सरकारलाई सुझाव दिएको उहाँको भनाइ छ। 

उपमहासचिव ज्ञवालीका अनुसार बैठकमा सुशासन, भष्ट्राचार नियन्त्रण र स्रोतको अधिकतम सदुपयोगलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिइएको छ।