साहारा लिम्बू
फुङ्लिङ, वैशाख २० गते। हिमाली क्षेत्रका बासिन्दा सामान ढुवानीका लागि अझै पनि फम्जो (भारी बोक्ने चौँरी) को प्रयोग गर्ने गर्दछन्। विषेश गरी ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको हिमाली क्षेत्रमा सामान ढुवानीका लागि फम्जो प्रयोग गरिने गरिन्छ।
सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन स्थित कञ्चनजङ्घा आधार शिविरको पदमार्गमा भारी बोकेर आफ्नो गन्तव्यतर्फ जाँदै गरेका फम्जो प्रसस्त मात्रामा भेट्न सकिन्छ। एउटा फम्जोले ५० केजी सम्म भारी बोक्न सक्ने याम्फुदिनका चौँरी तथा फम्जो पालका विष्णु शेर्पा बताउनुहुन्छ।
जिल्लाको सदरमुकाम फुङलिङदेनि याम्फुदिनको थुङगिमसम्म मात्र सावारी साधन पुग्न सक्ने भएकोले त्यस क्षेत्रदेखि माथि नयाँझोरेनी–तरुङदेन–चाइराम–रामजेर हुँदै कञ्चनजङ्घा आधार शिविरसम्म सामान ढुवानीका लागि फम्जो प्रयोग गरिन्छ। धेरै जसो विदेशी पर्यटक र उक्त क्षेत्रका होटलको सामान फम्जो बोक्ने गरेको कृषक विष्णु शेर्पाको भनाइ छ।