• १९ वैशाख २०८२, शुक्रबार

प्रभावकारी भएन स्वास्थ्य सेवा

blog

रामकृष्ण बोहोरा 

बागलुङ, वैशाख १९ गते । ढोरपाटन उपत्यकामा रहेको सामुदायिक स्वास्थ्य एकाइमा २०७६ सालदेखि ‘बर्थिङ सेन्टर’ स्थापना गरेर सेवाप्रवाह भए पनि अहिलेसम्म प्रभावकारी बन्न सकेको छैन । यहाँका बिरामीले सामान्य उपचार मात्रै पाउने गरेका छन् । सुत्केरी हुनुपर्नेलाई गाडी रिजर्भ गरेर बुर्तिवाङ झर्नुपर्ने अवस्था छ । 

बर्थिङ सेन्टरमा न्यानो बनाउने ठाउँको अभाव छ । शिशु जन्मेपछि तातो बनाउने बेबी वार्मर मेसिन बिग्रेको छ । नवजात शिशुलाई तताउनु परे समस्या भएको एकाइकी अनमी सीता बुढामगरले बताउनुभयो । मगरले भन्नुभयो, “न्यानो बनाउने मेसिन बिग्रेको छ, बनाउने अवस्था छैन, बालबालिकालाई पनि आगो फुकेर सेकाउनुपर्ने बाध्यता छ ।” नयाँ मेसिन आउने अवस्था नभएपछि स्वास्थ्यकर्मी र प्रसूति व्यथा लागेर आएकाको परिवारका आफन्त मिलेर आगो फुक्ने गरेका हुन् । चिसोमा आगो फुकेपछि सबै मिलेर बालबालिका र सुत्केरी सेकाउने उहाँको भनाइ छ । ढोरपाटन उपत्यकामा निर्माणाधीन नगर अस्पतालको काम रोकिएको डेढ वर्षपछि बल्ल सुरु भएको छ । नगरपालिकाले २०८० साल कात्तिकमा ठेक्का लगाएको अस्पताल भवनको ५० प्रतिशत मात्रै काम सकिएको छ । 

ढोरपाटनमा छ सयभन्दा बढी घर छन् । निसेलढोरसमेत गर्दा उपत्यकाभर एक हजार घरधुरीको बसोबास छ । फागुनदेखि कात्तिकसम्म ढोरपाटन उपत्यका बस्छन् भने चिसोको चार महिना बेँसी झर्छन् । निसेलढोर केही न्यानो भएकाले अधिकांश गाउँमै बस्ने गर्छन् । उनीहरूलाई जाडो मौसममा स्वास्थ्य सेवा लिन भने निकै कठिन छ । स्वास्थ्य एकाइबाट गत चैत महिनामा मात्रै ३३४ जनाले स्वास्थ्य सेवा लिएका छन् भने गत वर्ष ११ जना सुत्केरी भएका थिए । चालु वर्ष १६ जना सुत्केरी भएका छन् । वर्षमा ३५ जनासम्म महिला गर्भ परीक्षण गर्न आउने गरेकोमा केही सहर र केही घरमै सुत्केरी भएको भेटिएको अनमी बुढामगरले जानकारी दिनुभयो ।

 निसेलढोरमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको दुइ वर्ष पुगे पनि बर्थिङ सेन्टर भने छैन । निसेलढोरबाट वडा कार्यालय रहेको निसी गाउँ पुग्न १० घण्टा र ढोरपाटन उपत्यका पुग्न चार घण्टा पैदल हिँड्नु पर्छ । जसका कारण यहाँका अधिकांश महिला घरमै सुत्केरी बन्न बाध्य छन् । सुरक्षित स्थान खोज्दा सहरी क्षेत्रमा डेरा लिएर बस्नुपर्ने बाध्यता रहेको एकाइकी अनमी यामकुमारी घर्तीले बताउनुभयो ।