रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), वैशाख १८ गते । शल्यक्रियापछि आँखा देख्नुभएका बरेङ गाउँपालिका–५, बागलुङका ८६ वर्षीय लालबहादुर क्षेत्रीले चन्द्रकोट गाउँपालिकालाई धन्यवाद दिनुभएको छ । उहाँले छिमेकी पालिकामा आएर निःशुल्क आँखाको उपचार गर्दा टाढाको यातायातको कष्ट र खर्चसमेत झेल्नु परेन । क्षेत्रीले चन्द्रकोट गाउँपालिकाले वैशाख १५ र १६ गते सञ्चालन गरेको आँखा उपचार शिविरमा शल्यक्रिया गर्नुभएको हो ।
त्यस्तै फागुन २३ र २४ गते सञ्चालन भएको शिविरमा शल्यक्रियापछि डा. सविता ढकालले आँखाको पट्टी खोल्नेबित्तिकै सत्यवती गाउँपालिका–२ की ८५ वर्षीय वृद्धा कृष्णा कुँवरमा खुसीको सीमा रहेन । “मैले आँखा देखौँला भनेर कल्पना पनि गरेकी थिइनँ । बाँचेपछि सबै देख्न पाइने रहेछ,” उहाँले भन्नुभयो, “भगवान्सँग आँखा देख्दादेख्दै मर्न पाइयोस् भनेकी छु ।”
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवामा कार्यरत नेत्ररोग विशेषज्ञ डा. ढकालले मोतीविन्दुका बिरामीले समयमै आँखाको उपचार गर्न र शल्यक्रियापछि आँखा झन् बढी संवेदनशील हुने भएकाले विशेष हेरचाह गर्न सुझाव दिनुभयो ।
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले नागरिकको स्वास्थ्यप्रति गाउँपालिका संवेदनशील भएकाले भौतिक संरचना, उपकरण, जनशक्ति व्यवस्थापनसहित बेला बेलामा शिविरमार्फत सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले डाक्टर खोज्दै सहरका गल्लीमा पुग्नुपर्ने बाध्यतालाई आफूहरूले गाउँबाटै समाधान गरेको बताउनुभयो ।
गाउँमा हुने शिविरबाहेक नेपाल नेत्रज्योति सङ्घ, आँखा उपचार केन्द्रले मासिक रूपमा ११ र १२ गते शल्यक्रिया गर्ने गरेको छ । नेपाल नेत्रज्योति सङ्घ, आँखा उपचार केन्द्रले सदरमुकाममा नियमित सेवा दिएको छ भने दुर्गम गाउँमा समेत मोतीविन्दुको निःशुल्क शल्यक्रिया शिविर गर्ने तथा प्राविधिक सहयोग गर्ने गरिरहेको छ । मालिका, मदाने, कालीगण्डकी, सत्यवती, मुसीकोट, चन्द्रकोट, इस्मा, रुरुक्षेत्रलगायतका स्थानीय तहमा शिविर सञ्चालन गरेर दुर्गममा वर्षौं आँखाको समस्या झेलेर बसेकाहरू पनि उपचारको पहुँचमा आउन थालेका छन् ।
नेपाल नेत्रज्योति सङ्घ, आँखा उपचार केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीका अनुसार वार्षिक ३३ हजारको आँखा परीक्षण तथा ५१५ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्ने गरिएको छ । यो आर्थिक वर्षमा नेपाल नेत्रज्योति सङ्घ, आँखा उपचार केन्द्रले १० हजारभन्दा बढीको आँखा परीक्षण तथा करिब तीन सय जनाको शल्यक्रिया गरेको कार्कीले जानकारी दिनुभयो । बामी र खैरेनीमा सञ्चालन भएको शिविरमा ७९ जनाको निःशुल्क शल्यक्रिया भएको छ ।
नेपाल नेत्रज्योति सङ्घका सचिव पदमप्रसाद पाण्डेयका अनुसार जिल्लाका रेसुङ्गा, इस्मा, गुल्मीदरबार, छत्रकोट र रुरुक्षेत्र गाउँपालिकासँग केन्द्रले निःशुल्क शल्यक्रिया गर्ने सम्झौता गरेको छ । त्यस्तै गत साउन १ गतेबाट स्वास्थ्य बिमा कार्यान्वयनमा आएकाले धेरै नागरिकलाई सहज भएको छ ।