• १७ असार २०८१, सोमबार

अन्तर्राष्ट्रियस्तरको विद्युत वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माणाधीन

blog

काठमाडौं, जेठ २५ गते । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय स्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माण गरिरहेको छ ।

प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधासम्पन्न केन्द्र निर्माण गरेको हो ।

काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै आधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको केन्द्र निर्माणाधीन छ । केन्द्रको निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

केन्द्रमा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष रहनेछ । यसमा उपत्यकाका सबस्टेसन तथा स्विचिङ स्टेसनहरु जोडिनेछन् । केन्द्रबाटै ११ केभीभन्दा मुनिको ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिनेछ । साथै त्यहाँ अन्तर्राष्ट्रिय स्तरको डाटा सेन्टर रहनेछ, जहाँ प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरु एकीकृत रुपमा रहनेछन् ।

‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिने वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र भवनको सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । तीन तलाको भवनमा डाटा सेन्टर, नियन्त्रण कक्ष र कार्यालय रहनेछन् । सिभिल संरचनाको निर्माण सम्पन्न भएकोले अब केन्द्रमा राखिने उपकरणको जडान सुरु हुने र यसका लागि दुई/तीन महिना लाग्नेछ ।


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण कार्यको स्थलगत अनुगमन गरी प्राधिकरणको सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजना महत्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गर्नुभयो ।

केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिकसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई नेभेम्बरबाट काम सुरु भएको थियो । नेपाल सरकारको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब एक करोड २० लाख अमेरिकी डलर छ । 

प्राधिकरणले आफ्नो सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी सहज, सर्वसुलभ, प्रभावकारी  बनाउन ‘डिजिटल एनइए’ अवधारणामार्फत सोही अनुसार काम गरिरहेको छ । वितरण प्रणाली तथा विद्युतीय सेवालाई आधुनिकरण गर्ने क्रममा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका करिब ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिएको छ । आगामी दिनहरुमा क्रमैसँग देशभर ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिनेछ ।