• १७ वैशाख २०८२, बुधबार

सामुदायिकका विद्यार्थी निजीतर्फ

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, वैशाख १७ गते । शिक्षकको आन्दोलनले विद्यालय सुनसान छ । सो आन्दोलनले विद्यार्थी पनि मर्कामा परेका छन् । गत चैत २० देखि वैशाख दोस्रो हप्तासम्म सुनसान विद्यालयले विद्यार्थी पर्खेका छन् । 

नयाँ शैक्षिक सत्र सुरुसँगै नयाँ कक्षामा किताबकापी बोकेर विद्यालय जान नपाएपछि बालविकासदेखि माध्यमिक तहमा पठनपाठन गर्ने बालबालिकालाई विद्यालयले पर्खिएका हुन् । 

यतिबेला बालबालिका विद्यालय भर्नासँगै पाठ्यपुस्तकको झोला बोक्ने समय हो । नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण विद्यालय तालाबन्दी गरी शिक्षक काठमाडौँ लागेपछि बालबालिकाको पढाइ प्रभावित भएको भेरी नगरपालिका–१३ का डम्बरबहादुर रावतले बताउनुभयो । 

सरकार र शिक्षकबिचको लडाइँले बालबालिका शिक्षाबाट वञ्चित भएका छन् । बालबालिका नियमित रूपमा विद्यालय जान नपाउँदा पढेका सिकेका कुरा बिर्सन थालेको उहाँले गुनासो गर्नुभयो । छेडागाड नगरपालिका–१२, मनघाटका दीपक खत्रीले शिक्षक आन्दोलनले लामो समय विद्यालय बन्द भएपछि आफ्ना बालबालिकालाई घरछेउको विद्यालय छाडेर निजी विद्यालयमा भर्ना गर्नु परेको बताउनुभयो ।