• १७ वैशाख २०८२, बुधबार

कर्णाली राजमार्ग लगानी अनुसार भएन सुधार

blog

जीर्ण कर्णाली राजमार्ग  । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता 

कालीकोट, वैशाख १७ गते । सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग सधैँ जीर्ण छ । सरकारको लगानी अनुसारको सुधार नहुँदा राजमार्ग जीर्ण भएको हो । मर्मत गरेको एक महिनामै सडक भत्किने, राखिएको ओटासिल उप्किने भएकाले लगानी अनुसारको सुधार नदेखिने गरेको हो । 

नेपाली सेनाले २०६३ सालमा निर्माण गरेको सडकलाई २०६६ सालमा सडक विभागलाई हस्तान्तरण गरेको थियो । सडक विभागले राजमार्गका विभिन्न १४ वटा पुल निर्माणमा एक अर्ब १३ करोड रुपियाँ खर्च गरेको छ भने ओटासिल प्रविधिको कालोपत्रे गर्न र सेफ्टी बारसहित पर्खाल निर्माणका लागि विश्व बैङ्कको करिब दुई अर्ब रुपियाँ खर्च भइसकेको छ । ठेकेदारको ढिलासुस्ती, अनुगमनको कमी, कमसल निर्माण सामग्री  प्रयोगलगायतका कारण राजमार्ग झन् झन् जीर्ण बनिरहेको यहाँका सरोकारवालाको भनाइ छ । 

नेपालगन्जका व्यवसायी हस्त चन्दले झन्डै ८० प्रतिशत कालोपत्रे उप्किएपछि पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने भएकाले यस राजमार्ग हुँदै यात्रु हिँड्नै नचाहने गरेको सुनाउनुभयो । साँघुरो सडक, सानो गल्ती भए पनि गाडी सिधै कर्णालीमै खस्ने त्रास छ । उहाँले भन्नुभयो, “पर्यटक कर्णालीमा नआउनुको मुख्य कारण नै सडकको दुरवस्था हो । कर्णाली राजमार्ग भएर रारा पुगी फर्केका पर्यटक पनि फर्किंदा डराउने गरेका छन् । वैशाख पहिलो साता रारा घुमेर फर्किनुभएका बाँकेका अशोक न्यौपानेले भन्नुभयो, “सडकको त बिजोग नै रहेछ, त्यसको पीडा त यात्रा गर्नेलाई मात्र थाहा हुन्छ ।” 

साँघुरो सडक त्यसमा पनि नमिलेका मोडैमोड, जताततै खाल्टाखुल्टी हुँदा गाडी चढेदेखि गन्तव्यमा नझर्दासम्म गाडीले उफारेको उफा¥यै हुन्छ । 

‘सिङ्गल लेन’ हुँदा एउटा गाडी बिग्रिए पनि चार/पाँच घण्टा जाम । उहाँले स्थानीय तहले कर्णाली राजमार्गबाट गाउँ जोड्न डोजरमार्फत खनेका ग्रामीण सडकबाट खस्ने पहिरोले पनि राजमार्गको कन्तबिजोग बनाएको सुनाउनुभयो । सिँजा उपत्यका र रारातालले पर्यटकलाई आकर्षित गरिरहेकाले जुम्लासम्मकै सडकलाई पूरै दुई लेनको र गुणस्तरीय कालोपत्रे गर्न जरुरी रहेको यहाँ आउने प्रायः पर्यटकको सुझाव छ ।

विश्व बैङ्कको सहयोगमा २०७२ सालमा नेपाल सरकारको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टमार्फत एक अर्ब रुपियाँमा राजमार्ग कालोपत्रे गरिएको थियो । पहिलो चरणमा सुर्खेतबाट दैलेखको खिड्कीजियलासम्म र दोस्रो चरणमा खिड्कीजिउलादेखि जुम्लासम्म विभिन्न सात वटा निर्माण कम्पनीमार्फत ओटासिल प्रविधिको कालोपत्रे गरिएको हो । उक्त कालोपत्रे दुई वर्ष नबित्दै उप्किएको खाँडाचक्र नगरपालिका–१ का धर्मराज ताम्राकारले भन्नुभयो । सस्तो प्रविधिको पिच गरियो, त्यसमा पनि गुणस्तरीय काम भएन, अहिले बर्सौंभरि धुलो र हिलोमा यात्रा गर्नुपर्ने बाध्यता छ  । ताम्राकारका अनुसार हिउँदमा पनि राजमार्गमा सुक्खा पहिरो खस्ने हुँदा यात्रु सास्ती भोग्न बाध्य छन् । 

राजमार्गमा गाडी चलाउन निकै सास्ती हुने गरेको बसचालक जीवन शाहीको भनाइ छ । साँघुरो सडकका कारण अगाडि बढ्न पनि पछाडि गएर साइड दिनुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ । उहाँका अनुसार अधिकांश ठाउँमा सडक एकतर्फी छ । रिजर्भ गाडी एक दिनमा सुर्खेतबाट जुम्ला पुगे पनि यात्रुवाहक गाडी एक दिन कालीकोटमा बास बस्छन् । अधिकांश ठाउँमा सडक पाँच मिटरमा मात्र सडक छ भने घुम्ती नमिलेका कारण मोड पार गर्न निकै अप्ठेरो हुने गरेको छ । खाल्टैखाल्टा र कमजोर भूगोल भएको सडकमा खाल्डो जोगाउन खोज्दा दुर्घटनामा पर्नुपर्ने खतरा भएको अर्का गाडीचालक बिर्ख विकले सुनाउनुभयो ।