• १७ वैशाख २०८२, बुधबार

‘ब्लड बैङ्क’ नहुँदा जोखिममा सुत्केरी

blog

नन्द सिंह 

हुम्ला (रलिङ), वैशाख १७ गते । जिल्ला अस्पताल हुम्लामा ब्लड बैङ्क नहुँदा सुत्केरीको ज्यान जोखिममा पर्ने गरेको छ । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना गरे पनि स्वास्थ्य संस्थामा ब्लड बैङ्क नभएकै कारण सुत्केरी महिलाको ज्यान जोखिममा पर्ने गरेको हो । 

करिब ४८ कोस टाढा रहेको चङ्खेली गाउँपालिका–६ की विष्णु हमाल मेलछाम स्वास्थ्य चौकीमा आइतबार साँझ ५:३० बजे सुत्केरी हुनु भएको थियो । उहाँको स्वास्थ्य जटिल भएकाले स्वास्थ्यकर्मीले सदरमुकाम सिमकोट लगेर उपचार गर्न सुझाव दिएका थिए । श्रीमान् छित्त हमालले एम्बुलेन्समा राखेर पाँच घण्टाको यात्रापछि सोमबार बिहान जिल्ला अस्पताल पुर्‍याउनुभयो । 

हमाल जिल्ला अस्पतालमै सुत्केरी भए पनि रगतको आवश्यकता परेपछि सुत्केरीले दुःख भोग्नु पर्‍यो । जिल्लामा ‘ए नेगेटिभ’ रगत नभेटिएपछि जिल्ला बाहिर सिफारिस गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख चिकित्सक प्रतीक्षा भारतीले बताउनुभयो । विष्णुको स्वास्थ्य जटिल भएकाले चिकित्सकले नेपालगन्ज लैजान सुझाव दिए तर बिरामीका आफन्तसँग आर्थिक अभाव थियो । नेपाल–अस्ट्रेलिया साझेदारी संस्थाका प्रमुख छपाल दोर्जी लामाले हवाई भाडाबापत १८ हजार दुई सय रुपियाँ सहयोग गर्नुभयो । त्यसपछि बल्ल श्रीमान् छित्त हमालले उपचार गर्न नेपालगन्ज लैजाने निर्णय गर्नुभयो । त्यसका लागि नवजात शिशु र श्रीमतीलाई जिल्ला अस्पतालकै एम्बुलेन्समा राखेर सिमकोट विमानस्थल पुर्‍याइयो । विभिन्न कम्पनीका हवाईजहाज चार पटक आउजाउ गर्दा पनि सुत्केरी महिलाले उड्न नपाएको उहाँका श्रीमान् हमालले गुनासो गर्नुभयो ।

‘विमानस्थलको एप्रोनबाहिर एम्बुलेन्स र डाक्टरको टोली पनि थियो । प्रमुख जिल्ला अधिकारी पनि हुनुहुन्थ्यो तर नेपाल एयरलाइन्स र तारा एयरका जहाजले हामीलाई चढाउन मानेनन् । बिरामीका श्रीमान् छित्त हमालले भन्नुभयो, “अन्तिममा समिट एयरले चढायो । हामी दुई घण्टासम्म विमानस्थलमै अलपत्र पर्‍यौँ ।” सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको जहाजले समेत बिरामी बोक्न नमानेको भन्दै बिरामीका आफन्त आक्रोशित भए ।

नेपाल एयरलाइन्स हुम्लाका प्रमुख छिरिङ लामाले बिरामी र बिरामीका आफन्त जहाजको इन्जिन स्टार्ट भइसकेपछि विमानस्थल पुगेकाले रोक्न नसकिएको बताउनुभयो । सो जहाज सिमकोटदेखि सुर्खेत उडेको थियो । सुर्खेतबाट पुनः सिमकोट आएर फर्किएको थियो । त्यसपछि नेपालगन्जबाट तारा एयरको जहाज सिमकोट विमानस्थल आयो । त्यसले पनि बिरामीलाई प्राथमिकता नदिएको आफन्तले गुनासो गरेका थिए । 

अन्तिम उडान समिट एयरलाइन्सको थियो । सो जहाजमा बल्लतल्ल बिरामीले मौका पाएका थिए । बिहान ७:३० बजे विमानस्थल पुगेका बिरामी र आफन्तले १० बजे मात्र उड्ने मौका पाएका थिए । समिट एयरको जहाज उड्ने बेला हावाको वेग बढेकाले करिब १० मिनेट ढिलो उडेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र सिंहले हावाको वेग बढेपछि अरू यात्रु झारेर बिरामीसहित तीन जनालाई लिएर समिट एयर नेपालगन्ज उडेको जानकारी दिनुभयो ।