• १६ वैशाख २०८२, मङ्गलबार

पैँचो पसलले साधारण सेयर जारी गर्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १६ गते । एनआइसी एसिया क्यापिटल र पैँचो पसलबिच भविष्यमा पैँचो पसलको सर्वसाधारणमा निष्कासन गर्नुपर्ने सेयरको निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ । एनआइसी एसिया क्यापिटलले सुक्खानगर बुटवलमा रजिस्ट्रार कार्यालय रहेको पैँचो पसल प्रालिसँग प्राथमिक सेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको हो । पैँचो पसललाई प्रालिबाट पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानुनबमोजिम सर्वसाधारणमा सेयर जारी गर्न सम्झौता गरिएको कम्पनीले जनाएको छ ।  पैँचो पसल प्रालि कृषिसम्बन्धी कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रका उत्पादन भएको तरकारीलाई उच्च गुणस्तर कायम गरी उपभोक्तामाझ पु¥याउँदै आएको छ । पैँचो पसलले केचप, अचार तथा जाम जस्ता खाद्य परिकार उत्पादन तथा प्याकेजिङ गरी बिक्री वितरण गर्दै आइरहेको छ ।

पैँचो पसल खाद्य कम्पनी मात्र नभई, बिउबिजन उत्पादनदेखि उत्पादित वस्तु बजारसम्म किसानसँग सहकार्य गर्दै आएको छ । कम्पनीले प्राविधिक परामर्श, व्यवस्थापन र बजार पहुँच सुनिश्चित गर्दै कृषकलाई खेतमै मात्र नभई खेतबाहिर पनि जीवनयापनका अवसर सिर्जना गरिरहेको जनाएको छ ।