गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १६ गते । आगामी जेठ २, ३ र ४ गते नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादका लागि तीन सय जना विदेशी पाहुनालाई निमन्त्रणा दिइएको छ । सगरमाथा संवादका सदस्यसचिव डा. महेश्वर ढकालले विभिन्न मित्रराष्ट्रका पाहुना तथा विज्ञको सहभागिताका लागि प्रतिबद्धताको सूचीकरण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न देशका तीन सय बढी विदेशी पाहुनालाई निमन्त्रणा गरिएको छ ।
नेपालका हिमाल संरक्षणको मुद्दालाई विश्वव्यापी बनाउन आयोजना गर्न लागिएको सगरमाथा संवादको पहिलो संस्करण नजिकिँदै गर्दा यसको प्रचार प्रसार तीव्र बनाइएको छ । सगरमाथा संवाद आउन करिब १५ दिन मात्र बाँकी रहँदा सबै प्रकारका उपाय अवलम्बन गर्दै सगरमाथा संवादको प्रचार प्रसार तीव्र बनाउन सुरु गरिएको हो ।
जलवायु परिवर्तन, हिमाल र मानवीयताको भविष्य शीर्षकको सगरमाथा संवादको उच्च स्तरमा प्रचार प्रसार थालिएको सहसचिव एलबी क्षेत्रीले बताउनुभयो । अन्तर्क्रियामा प्रचार प्रसार तथा मिडिया व्यवस्थापनसँगै हालसम्म भएका गतिविधिबारे उहाँले जानकारी दिनुभयो ।
सरकारी तथा निजी पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन मिडिया तथा सामाजिक सञ्जालको भरपूर उपयोग संवादको पहिलो संस्करणको प्रचार प्रसारमा गरिने उहाँले बताउनुभयो । साथै विद्यालय, युवा तथा बालबालिका, स्थानीय समुदायसँगको सहकार्यमा प्रचार प्रसारलाई थप प्रभावकारी बनाइने भएको छ । त्यसै गरी विभिन्न प्रकाशन तथा प्रसारण आबद्ध सङ्घ संस्था, स्वतन्त्र मिडियाका संस्था, सरकारका सबै प्रकारमा वेबसाइट तथा अनलाइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल प्रकाशनसहित अन्तर्राष्ट्रिय मिडिया प्लेटफर्ममा पनि सगरमाथा संवादको प्रचार प्रसारमा समावेश गरिने क्षेत्रीले जानकारी दिनुभयो ।