गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १६ गते । दलको प्रस्तावित नाम अन्य दलसँग मेल खाएको भन्दै निर्वाचन आयोगले सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टीलाई अर्को नाम प्रस्ताव गर्न आग्रह गरेको छ । आयोगले विगतमा अर्को दलसँग मिल्दो नामलाई मान्यता दिए पनि सो पार्टीलाई नाम परिवर्तन गर्न आग्रह गरेको हो ।
सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालले नाम परिवर्तन गरी ‘राष्ट्रवादी स्वतन्त्र पार्टी’ प्रस्ताव गरेकोमा आयोगले सो नामसमेत परिवर्तन गर्न आग्रह गरेको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार संवैधानिक व्यवस्था अनुकूल दलको नाम नरहेको भन्दै नाम परिवर्तन गर्न निर्देशन दिएकोमा सो दलले राष्ट्रवादी स्वतन्त्र पार्टी नाम प्रस्ताव गरेको हो । तर सो नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ सँग मिल्दोजुल्दो रहेको भन्दै आयोगले अर्को नाम प्रस्ताव गर्न आग्रह गरेको हो ।
आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले सो विषय कानुन शाखासँग जोडिएको र आयोगले निर्णय गरेर नाम परिवर्तन गर्न आग्रह गरेको बताउनुभयो । आयोगले विगतमा मिल्दो नामलाई मान्यता दिएकोबारे राखिएको जिज्ञासामा उहाँले यस विषयमा थप जानकारी लिएर मात्रै धारणा राख्ने बताउनुभयो ।
सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टीका महासचिव राजकुमार राईले प्रस्तावित ‘राष्ट्रवादी स्वतन्त्र पार्टी’ कुनै दलसँग मिल्दो नरहेको दाबी गर्दै बिचको स्वतन्त्र मिल्दैमा अर्को नाम राख्न भन्नु उपयुक्त नभएको जिकिर गर्नुभयो ।
जनता समाजवादी पार्टी नेपाल २०७७ असार २७ गते र जनता समाजवादी पार्टी २०८१ वैशाख २४ गते दर्ता भएको हो । हाल यी दुवै दल कायम छन् । खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल २०७४ असार ३० गते दर्ता भएको हो ।
निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको दल २०७९ असार १७ गते दर्ता भएको हो । नेपालको संविधान २०७२ को धारा २६९ ले राजनीतिक दलको नामसम्बन्धी व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिह्न वा झन्डा देशको धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेमा त्यस्तो दल दर्ता हुने छैन । निर्वाचन आयोगले संविधानको मर्मविपरीत दर्ता भएका १९ दललाई नाम परिवर्तन गर्न निर्देशन दियो ।
आयोग पदाधिकारीको २०८० फागुन ३ गतेको बैठकले नाम परिवर्तन गर्न निर्देशन दिएकोमा १० वटा दलले नाम परिवर्तन गरेका छन् ।