• १९ असार २०८१, बुधबार

रित्तै छन् गोदाम

blog

सुरेशकुमार यादव

काठमाडौँ, जेठ २५ गते । मकै, चैतै धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग किसानलाई वितरण गरिने रासायनिक मलको मौज्दात शून्य छ । कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका सबै गोदाम खाली छन् भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग पनि मलको मौज्दात छैन । 

यद्यपि कृषि मन्त्रालयले किसानलाई पुग्नेगरी असार मसान्तभित्र मल आइपुग्ने दाबी गरिरहेको छ । कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले ग्लोबल टेन्डर (अन्तर्राष्ट्रिय बोलपत्र) तथा भारतसँग गरिएको जीटुजी (सरकारदेखि सरकार)को माध्यमबाट असार मसान्तभित्र रासायनिक मल आइपुग्ने दाबी गर्नुभयो । 

रासायनिक मलको सहज आपूर्तिका लागि निरन्तर प्रयास गरे पनि विश्व बजारमा आएको मलको मूल्यको उतारचढावका कारण मल आपूर्तिमा असहजता भएको दाबी कृषि मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख छ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनले एक लाख १७ हजार मेट्रिक टनका लागि ग्लोबल टेन्डर गरेका थिए तर विभिन्न आपूर्तिकर्ताले सम्झौताको समयावधिभित्र सो मल उपलब्ध नगराएकाले मल आपूर्तिमा अभाव सिर्जना भएको हो । 

ग्लोबल टेन्डर तथा भारतसँग गरिएको जीटुजीको माध्यमबाट असार मसान्तभित्र रासायनिक मल आइपुग्ने दाबी । 

मल अभावलाई कम गर्नका लागि सरकारले भारत सरकारसँग जीटुजी प्रक्रियाबाट आगामी पाँच वर्षमा पाँच लाख ६५ हजार मेट्रिक टन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डीएपी मल खरिद गर्ने गरी सम्झौता गरेको छ । धान बालीको मौसममा मलको आपूर्तिलाई सहजता प्रदान गर्न यस चालू आर्थिक वर्षका लागि एक लाख ५० हजार मेट्रिक टन मल ल्याउने प्रयास भइरहेको प्रवक्ता सञ्जेल बताउनुभयो । 

मलको हाहाकार हुनुको कारणमा कृषि मन्त्रालयले कोरोना महामारी, अन्तर्राष्ट्रिय रूपमा रासायनिक मलको उत्पादनमा आएको ह्रास, रासायनिक मलको अन्तर्राष्ट्रिय बजार मूल्यमा तीव्र रूपमा वृद्धि, रुस–युक्रेन युद्धलाई लिइएको छ । गत आर्थिक वर्षको जेठ महिनामा औसतमा युरियाको मूल्य करिब ५५ रुपियाँ प्रतिकेजी र डीएपीको मूल्य करिब ८२ रुपियाँ प्रतिकेजी रहेकोमा हाल अन्तर्राष्ट्रिय बजारमा युरियाको मूल्य करिब ९८ रुपियाँँ प्रतिकेजी र डीएपीको मूल्य करिब १५० रुपियाँ प्रतिकेजी रहेको छ । 

चालू आर्थिक वर्षको मल आपूर्तिको मुख्य मौसमको (माघ र फागुन)मा युरियाको मूल्य बढीमा १३९ रुपियाँ प्रतिकेजी र डीएपीको मूल्य बढीमा १६८ रुपियाँ प्रतिकेजीसम्म पुगेको थियो । हाल सरकारले रासायनिक मलको मूल्य प्रणालीअनुसार आयात बिन्दुमा युरियाको मूल्य १५ रुपियाँ प्रतिकेजी र डीएपीको मूल्य ४४ रुपियाँ प्रतिकेजी रहेको छ ।