• १५ वैशाख २०८२, सोमबार

कर्मचारी माग्न काठमाडौँ

blog

मुक्तिनाथ समाचारदाता 

मुक्तिनाथ (मुस्ताङ), वैशाख १५ गते । उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा रहेको भन्सार कार्यालयलाई चुस्त र सशक्त बनाउने माग गर्दै ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष काठमाडाैँ पुग्नुभएको छ । 

कोरला नाका औपचारिक रूपमा खुलेको डेढ वर्ष बितिसक्दासमेत भन्सार कार्यालयमा अझै जनशक्ति र भौतिक पूर्वाधारका लागि ल्होमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले भन्सार विभाग उपमहानिर्देशक एवं नीति तथा सञ्चालन महाशाखा प्रमुख जनकराज शर्मालाई जानकारी गराउनुभयो । 

भन्सार शुल्क तिरेर सामान ढुवानी गर्ने वातावरण बनाउन पटक पटक अनुरोध गर्दासमेत सुनुवाइ नभएपछि गत २०८१ चैत २९ गते प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको उपस्थितिमा बसेको भेलाबाट भएको निर्णयसहित भन्सार कार्यालयमा पुगेको ल्होमन्थाङ गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । गाउँपालिका अध्यक्ष गुरुङ भन्नुहुन्छ, “पूर्वाधार र प्रशासनिक गतिविधि चुस्त र सशक्त बनाउन अनुरोध गरेका छौँ । उहाँहरू सकारात्मक हुनुहुन्छ ।”

सोही अवसरमा कोरला नाकामा रहेका अध्यागमनसहित विकासनिर्माण तथा सुरक्षाका बारेमा समेत सम्बन्धित निकायमा पुगेर जानकारीसहित सहयोगको अनुरोध गर्ने अध्यक्ष गुरुङको भनाइ छ । कोरला नाकाबाट अहिले मुस्ताङका व्यवसायीले घरायसी प्रयोजनका लागि मात्रै सामान ढुवानी गर्ने गरेका छन् । 

नाकामा भन्सार, अध्यागमन, पशु, खाद्य क्वारेन्टाइन युनिट काम चलाउ भूमिकामा मात्र सीमित रहँदा व्यापारिक चहलपहल बढ्न नसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टले बताउनुभयो । अध्यक्ष विष्ट भन्नुहुन्छ, “चाडपर्वको समयमा पनि व्यापार गर्न नसक्ने अवस्था छ, कर्मचारी मात्रै खटाए पनि अहिले काम गर्न सहज हुन्छ ।” नाकामा नेपाली पक्षबाट आवश्यक पूर्वाधारका लागि भइरहेको ढिलासुस्तीप्रति चिनियाँ पक्षले समेत चासो देखाइरहेका छन् ।