गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १५ गते । बैङ्क तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैङ्क आइतबारदेखि ७० औँ वर्षमा प्रवेश गरेको छ । त्यस अवसरमा राष्ट्र बैङ्कले आइतबार आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्र बैङ्कका कामु गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले स्थापना कालदेखि राष्ट्र बैङ्कले समष्टिगत आर्थिक स्थायित्व र वित्तीय क्षेत्रको प्रवर्धनमार्फत देशको समग्र आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको बताउनुभयो ।
अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको भन्दै उहाँले मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवं बैङ्किङ क्षेत्रबाट प्रवाहित कर्जा विस्तारले समेत गति लिन थालेको बताउनुभयो ।
उहाँले अधिक तरलता र न्यून ब्याजदरका साथै बाह्य क्षेत्र परिसूचक सबल रहेको सन्दर्भमा मौद्रिक क्षेत्रबाट शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन हदैसम्मको प्रयास गरिएको बताउनुभयो ।
पछिल्लो उपलब्ध सार्वजनिक वित्त, वैदेशिक व्यापार र आर्थिक वृद्धिको तथ्याङ्कले आर्थिक गतिविधिमा सुधार हुँदै गएको आकलन गर्न सकिने भन्दै उहाँले निष्क्रिय कर्जा अनुपातमा समेत सुधार हुने अपेक्षा गर्नुभयो ।
उहाँले मौद्रिक, वित्तीय तथा विदेशी विनिमय नीतिमार्फत समिष्टगत आर्थिक स्थायित्व कायम राख्न राष्ट्र बैङ्क कटिबद्ध रहेको बताउनुभयो ।
पछिल्लो समय खास गरी अमेरिकी अन्तर्राष्ट्रिय व्यापार एवं आर्थिक सहयोग नीति र भूराजनीतिक तनाव जस्ता बाह्य कारणले अर्थतन्त्रमा थप दबाब पर्न सक्ने जोखिम भने कायमै रहेको उहाँको भनाइ थियो । नेपालको बाह्य क्षेत्र सबल हुँदै गएको भन्दै उहाँले विगत दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आवको कात्तिकदेखि बढ्न थालेको जानकारी दिनुभयो । विप्रेषण आप्रवाह र पर्यटन आयमा वृद्धि भएका कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चिति बढेको उहाँले बताउनुभयो ।
राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सहकारी समस्या समाधान गरेर नागरिकको पैसाको फिर्ता गरेमा अर्थतन्त्र लयमा फर्किन सक्ने भन्दै यसले मानिसको क्रयशक्ति बलियो बनाउने भएकाले त्यसमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपालले होनहार युवा बाहिर गएर पठाएको र रेमिट्यान्सले नेपालको अर्थतन्त्र मजबुत स्थितिमा देखिएकाले यसमा मात्रै सन्तुष्ट हुने ठाउँ नरहेको उहाँको भनाइ थियो । कार्यक्रममा राष्ट्र बैङ्कका पूर्वगभर्नर क्षेत्रीलाई सम्मान गरिएको थियो । यस्तै राष्ट्र बैङ्कमा २० वर्षभन्दा बढी सेवा प्रदान गर्ने कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो भने उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।