काठमाडौँ, वैशाख १४ गते । राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आगामी आर्थिक वर्षको बजेट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्म र भावना बमोजिम आउनुपर्नेमा जोड दिनुभएको छ । बैठकको विशेष समयमा दलीय आधारमा उहाँले आगामी आवको बजेटमार्फत जनताका पक्षमा काम गर्न सक्छौँ भन्ने देखाउन सक्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्री र अर्थमन्त्रीलाई विशेष आग्रह छ, अब पुरानै ढाँचाको बजेट नल्याउनुहोस्, बजेटमार्फत उत्पादन वृद्धि हुनुपर्यो, कृषकले खेतीयोग्य जमिन बाँझो राख्न नपर्ने खालको बजेट ल्याउन जरुरी छ ।” वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएका युवालाई देशभित्रै रोजगारी दिन सक्नेगरी बजेट बनाउनुपर्ने उहाँले बताउनुभयो ।
“हामी २०७२ सालको संविधानसँगै नयाँ राजनीतिक यात्रामा प्रवेश गरेका हौँ । आन्दोलनपछि गणतन्त्रको घोषणासँगै लामो समय लगाएर संविधान जारी गरेका थियौँ । संविधान सबैको साझा दस्तावेज हो, तर हाम्रो मानसिकता सङ्घीयता बमोजिम भएको छैन”, सांसद सिटौलाले भन्नुभयो । संविधान नयाँ भए पनि हाम्रो काम गर्ने शैली पुरानै रहेको उहाँको भनाइ छ । उहाँले एकले अर्कालाई आरोप लगाउनेभन्दा पनि सबै मिलेर यथाशीघ्र शिक्षा ऐन ल्याउनुपर्ने उहाँले बताउनुभयो ।
“लामो समयदेखि शिक्षकहरू सडकमा प्रदर्शनरत छन् । मैले संविधान जारी भएदेखि शिक्षा विधेयकका बारेमा छलफल गर्नुपर्ने भन्दै आएको हुँ, तर अहिलेसम्म पनि ऐन बनाउन सकेका छैनौँ”, सांसद सिटौलाले भन्नुभयो । युवा पलायन रोक्न मुलुकको शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताउँदै रोजगारीका निम्ति देशभित्रै कलकारखाना र उद्योग सञ्चालन गर्नेगरी बजेट ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
संविधानले दिएका मौलिक अधिकार मात्रै कार्यान्वयन गराउन सकेको खण्डमा जनताका न्यूनतम अधिकार कार्यान्वयन हुने सांसद सिटौलाले उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्रमा सबैलाई आफ्ना माग राख्ने अधिकार भएको उल्लेख गर्दै देश विकासका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । रासस