• १५ वैशाख २०८२, सोमबार

लिफ्टिङ प्रविधिमार्फत काभ्रडाँडामा ‘एक घर, एक धारा’

blog

बागलुङ नगरपालिका–१३ पैयुँपाटाको काभ्रडाँडामा लिफ्टिङ प्रविधि मार्फत सञ्चालनमा ल्याएको एक घर एक धारा खानेपानी आयोजनाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठ । तस्बिर : अर्जुन कार्की

अर्जुन कार्की

काठेखोला (बागलुङ), वैशाख १४ गते । खानेपानीको चरम अभाव झेलेको बागलुङ नगरपालिका-१३ पैयुँपाटा काभ्रडाँडाका स्थानीयहरूका लागि ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याइएको छ । 

नेपाल स्वास्थ्यका लागि पानी नेवाको सहयोग र बागलुङ नगरपालिकाको साझेदारीमा काभ्रेडाँडाका २१ घर धुरीका लागि लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याइएको हो ।

आयोजनाले खानेपानीका लागि १५ देखि ३० मिनेटको बाटो नजिकैको खोल्सामा पुगेर लामो समय कुर्नपर्ने बाध्यताको अन्त्य भएको स्थानीय ७६ वर्षीया बालिका रिजालको भनाइ छ । स्थानीय रिजालले खानेपानी दिनका लागि कुवाँमा जानुपर्ने र लाइन लाग्दा घरको दैनिक काममा ढिला हुने गरेको बताउँदै अहिले घर घरमा खानेपानीको धारा निर्माण हुँदा लाइन लाग्नुपर्ने, खानेपानी लिन हिड्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

खानेपानी ल्याउनुपर्ने बाध्यता लिफ्टिङ खानेपानी योजना मार्फत टरेपछि काभ्रडाँडावासीले दुःखका दिन गएको अनुभव गरेका छन् । ‘हामीले त दुःखका दिन काटियो अब हाम्रा छोरा नातिलाई घरमै आएको धारोको पानी खानी खान पाउने भए धेरै खुसी लागेको छ,’ स्थानीय रिजालले खुसी हुँदै भन्नुभयो, ‘पानी आयो, जीवन आयो । अब हाम्रो गाउँ पछि पर्ने छैन ।’

लिफ्टिङ खानेपानी मार्फत प्रत्येक घरघरमा धारा ल्याउन पाउँदा यहाँ स्थानियलाई ठुलो राहत भएको आयोजनाका अध्यक्ष नरप्रसाद रिजालले बताउनुभयो । उहाँले ठुलो मिहिनेतले अहिले घर घरमा धाया ल्याउन सफल भएको बताउँदै वर्षौदेखि खानेपानीका लागि भोग्दै आएको दुःखको अन्त्य भएको बताउनुभयो । एक घर एक धाराको उद्घाटनपछि काभ्रेडाँडालाई सफा र स्वच्छ समुदाय समेत घोषणा गरिएको छ । ‘बागलुङ नगरपालिकाको साझेदारीमा नेवाले खानेपानी योजनाका लागि सहयोग गर्‍याे, हामीले पानी मात्र हैन घर आगन कसरी सरसफाइ राख्ने पनि सिकेका छौं । त्यसैले हाम्रो गाउँलाई  सफा र स्वच्छ समुदाय घोषणा गरेका छौं,’ अध्यक्ष रिजालले भन्नुभयो ।

काभ्रडाँडा गाउँभन्दा केही तलको सिमको खेतमा रहेको पानीको मुलबाट लिफ्टिङ प्रविधि मार्फत कुल २४ लाख ६० हजार ७ सय रुपियाँ लागतमा योजना सम्पन्न भएको आयोजनाका अध्यक्ष रिजालले जानकारी दिनुभयो । उहाँले नेवाको ११ लाख ७३ हजार ५० रुपियाँ, बागलुङ नगरपालिकाको ८ लाख ८४ हजार ६९० रुपियाँ र स्थानीय जनश्रमदानको ४ लाख २ हजार ९६० रुपियाँ लागत रहेको बताउनुभयो । 

आयोजना मार्फत १ वटा इन्टेक, २ वटा आरभिटी र २१ वटा धारा निर्माण गरिएको छ । गत भदौ २१ गते सम्झौता भएर काम सुरु भएको योजना चैत्रको पहिलो साता सम्पन्न भएको थियो ।

बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले नगरबासीलाई स्वच्छ पानीको व्यवस्थापन गर्न नगरपालिका लागि परेको बताउनुभयो । उहाँले नगरपालिकाले विभिन्न सङ्घसंस्थासँग साझेदारी गरेर नगरभरी ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिएको बताउनुभयो । ‘नेवासँगको साझेदारीमा काभ्रेडाँडावासीको धेरै पहिलेदेखिको सपना अहिले साकार भएको छ,’ नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘आगामी दिनमा खानेपानी समस्या भएको अन्य बस्तीमा पनि जे जसरी खानेपानीको समस्या समाधान गर्न सकिन्छ नगरपालिकाले त्यसैगरी आम नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउने छ ।’

नगर प्रमुख श्रेष्ठले नगरका सबै नागरिकको घरघरमा शुद्ध खानेपानी पुर्‍याउने योजना अन्तरगत लिफ्ट प्रविधि मार्फत र ड्रिलिङ प्रविधि मार्फत योजना निर्माण भइरहेको बताउनुभयो । नेवा मार्फत जिल्लाका विभिन्न स्थानमा लिफ्ट खानेपानी आयोजना र अन्य योजना सञ्चालन गरी 'एक घर एक धारा' अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको नेवा गण्डकी प्रदेशका प्रमुख रमेश दाहालले बताउनुभयो ।