रमेश विश्वकर्मा
गुल्मी, वैशाख १४ गते । गुल्मीको चन्द्रकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ । 'हरेक क्षेत्रमा सबैको क्रियाशीलता, सबल एवम् सक्षम चन्द्रकोट, भ्रष्टाचारमा शुन्य सहनशीलता' भन्ने नारासहित एक औपचारिक कार्यक्रमका बिच यस गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति एवम् पूर्णखोप दिगोपना पालिका घोषणा गरिएको हो ।
राष्ट्रिय खोप कार्यक्रम अनुसार यहाँ रहेका सबै बालबालिकालाई खोप दिएपश्चात् चन्द्रकोट गाउँपालिकाकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको बताइएको छ । गाउँपालिकाका आठ वटै वडामा रहेका लक्ष्यित अर्थात् १६ देखि ५९ महिनाका ८२९ जना बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न भएसँगै पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रकाशचन्द्र शर्माले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखा प्रमुख शर्माका अनुसार दिब्रुङ स्वास्थ्य चौकीबाट ४५, बिशुखर्क स्वास्थ्य चौकीबाट १०३, हर्राचौर स्वास्थ्य चौकीबाट ७१, शान्तिपुर स्वास्थ्य चौकीबाट १६८, ग्वाघा स्वास्थ्य चौकीबाट ७४, हरेवा स्वास्थ्य चौकीबाट ६२, रूपाकोट स्वास्थ्य चौकीबाट १०९ र तुराङ स्वास्थ्य चौकीबाट १९७ गरी यहाँ रहेका कुल ८२९ जना लक्ष्यित बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन् ।
खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरू पूरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको उहाँले बताउनुभयो । संस्थागत प्रसूति सेवा सुनिश्चित गर्न गाउँपालिकाले छ वटा स्वास्थ्य संस्थामा वर्थिङ सेन्टरको व्यवस्था गरेको छ । पालिकामा १०० प्रतिशत महिलाले स्वास्थ्य संस्थामा प्रसूति गरिसकेको बताइएको छ ।
गाउँस्तरमै स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले यस गाउँपालिकामा स्वास्थ्य चौकी आठ, बर्थिङ्ग सेन्टर छ, ल्याब सेवा पाँच, सामुदायिक स्वास्थ्य एकाइ नौ सञ्चालन गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाइएको गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले बताउनुभयो । गाउँपालिका सधै नागरिकको साथमा रहेको उहाँको भनाइ छ ।
पूर्ण संस्थागत प्रसूति एवम् पूर्णखोप दिगोपना पालिका घोषणा समारोहलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले उद्घाटन गर्नुभयो । कार्यक्रममा संविधान सभा सदस्य सृजना तरामु मगर, जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्री छिमेकी पालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, वडाध्यक्ष, कार्यपालिका सदस्य जनप्रतिनिधि लगायतको उपस्थितिमा चन्द्रकोट गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवा प्राप्त साथै पूर्णखोप दिगोपना पालिका साझा प्रतिबद्धता लेखिएको व्यानरमा हस्ताक्षर समेत गरिएको छ ।