गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १४ गते । महायान–वज्रयान बुद्ध धर्मका विविध देवताबारे सञ्चालन गरिएको नौहप्ते प्रशिक्षण कक्षा शनिबार सम्पन्न भएको छ । केशचन्द्र महाविहार संरक्षण समाजको आयोजनामा भएको सो प्रशिक्षण कक्षा गत फागुन ३ गतेदेखि वैशाख १३ गतेसम्म प्रत्येक शनिबार सञ्चालन भएको थियो । बौद्ध विदुषी सुमति वज्राचार्यले लिनुभएको प्रशिक्षण कक्षामा करिब ७५ जना प्रशिक्षित भएका छन् ।
बौद्ध विदुषी वज्राचार्यले समापन समारोहमा प्रशिक्षार्थी सबैलाई प्रमाणपत्र प्रदान गर्नुभयो । केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले महायान र वज्रयान बौद्ध धर्म मान्नेमध्ये धेरैलाई यसको महिमा, आराधना, मन्त्रसिद्धि, मुद्रा आदिबारे ज्ञान नभएको हुँदा यस्तो कक्षा सञ्चालन गरिएको बताउनुभयो । उहाँले कक्षामा भएका विषयलाई लिपिबद्ध गरेर महायान–वज्रयान बुद्ध धर्मका विविध देवताबारे पुस्तक तयार पारिएको जानकारी दिनुभयो । पुस्तकको शनिबारै विमोचन गरिएको थियो ।