• १३ वैशाख २०८२, शनिबार

लुम्बिनीलाई विश्वकै आध्यात्मिक केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिबद्ध : मन्त्री पाण्डे

blog

शनिबार लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवमा सहभागी हुनुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलगायत । तस्बिर : मन्त्री पाण्डेको सचिवालय

लुम्बिनी, वैशाख १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको  रूपमा पहिचान कायम गराउन सरकार प्रतिबद्ध रहेको उद्घोष गर्नुभएको छ ।

शनिबार लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘‘लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन, चिन्तन र मननको केन्द्रको रूपमा पहिचान कायम गराउन सरकार प्रतिबद्ध रहेको छ । विश्वविख्यात योजनाविद् केन्जो टाङ्गको गुरूयोजनालाई आधारमा लिई रामग्राम, देवदह, तिलौराकोट, गोटिहवा र निग्लिहवा जस्ता धार्मिक ऐतिहासिक स्थलहरू समेट्दै लुम्बिनी क्षेत्रको एकीकृत विकास गर्ने लक्ष्य लिएको छ ।’’

उहाँले बौद्ध धर्मावलम्बीको मर्मलाई आत्मसात् गर्दै स्थानीय समुदायको अपनत्व र प्रकृति र विकासको सन्तुलन आवश्यक रहेको औंल्याउनुभयो ।

उहाँले संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान् को सोचलाई आत्मसात् गर्दै लुम्बिनीको विकास र प्रवर्धनका लागि संयुक्त राष्ट्र संघका १६ वटा राष्ट्रहरू सम्मेलित अन्तर्राष्ट्रिय समितिलाई पुनः सक्रिय बनाउनका लागि यसै वर्ष बैठक आह्वान गर्ने समेत विश्वास दिलाउनुभयो । एसिन बुद्धिष्ट कलेचरल फेस्टिभलले लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धन गर्न समेत टेवा पुग्ने उहाँले बताउनुभयो । मन्त्री पाण्डेले लुम्बिनी विकास कोषको ऐन संशोधन गरिने समेत जानकारी दिनुभयो । 

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा थाइल्यान्ड, कम्बोडिया, चीन लगायतका ५० मुलुकका भिक्षुहरूका साथै बौद्ध धर्मावलम्बीको उपस्थिति रहेको छ ।