अमरराज नहर्की
तनहुँ, वैशाख १३ गते । तनहुँको बन्दीपुर गाउँपालिकाले आइतबारबाट अनिवार्य पढाई सूचारु गर्न सूचित गरेको छ । शिक्षकहरूको दबाबमूलक आन्दोलनले गर्दा प्रभावित बनेको पठनपाठन प्रक्रिया सुरु गर्न सूचित गरेको हो ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाद्वारा जारी विज्ञप्तिमा आन्दोलनले बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार कुण्ठित भएकाले पढाई सुरु गर्न सूचित गरिएको छ ।
देशभरिका सामुदायिक विद्यालयका शिक्षकहरूले पेसागत सम्मान, शिक्षा ऐन जारी लगायतका मागहरू राख्दै आन्दोलनमा उत्रिएकाले बन्दीपुरका विद्यालयहरूमा भर्ना अभियान, परीक्षा र नियमित पठनपाठन अन्योलमा परेकोले गाउँपालिकाले पढाई सञ्चालन गर्न आग्रह गरिएको हो ।
आन्दोलन फिर्ता लिई सहज वातावरण बनाउन सरकारलाई शिक्षकहरूको संविधानसम्मत माग सम्बोधन गर्न आग्रह विज्ञप्तिमा गरिएको छ । विज्ञप्तिमा वैशाख १२ गतेदेखि संसदको अधिवेशन आह्वान भइसकेको अवस्थामा प्रस्तावित शिक्षा विधेयक तत्काल संसदमा प्रस्तुत गरी पारित गर्न सरकारसँग माग गर्नु भएको छ ।
शिक्षक आन्दोलनले गर्दा गाउँपालिकाभित्र अघि बढाइएको शैक्षिक सुधार तथा विकाससम्बन्धी कार्यक्रमहरू प्रभावित बनेका छन् । संस्थागत विद्यालयहरूमा भर्ना तथा पठनपाठन सामान्य रूपमा सञ्चालन भइरहे पनि सामुदायिक विद्यालयहरूमा नियमित शैक्षिक गतिविधि ठप्प हुँदा विद्यार्थी, अभिभावक र सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् ।
यस्तो परिस्थितिमा यथाशीघ्र पठनपाठन पुनः सुरु गर्नुपर्ने आवश्यकता देखिएको भन्दै गाउँपालिकाले वैशाख १४ गते आइतबारदेखि अनिवार्य रूपमा सामुदायिक विद्यालयहरू सञ्चालनमा ल्याउन सम्पूर्ण विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूलाई आग्रह गरिएको छ ।