मकवानपुर समाचारदाता
मकवानपुर, वैशाख १३ गते । बागमती प्रदेश सरकार मातहतमा रहेको हेटौँडा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हुँदा सर्वसाधारण मारमा परेका छन् ।
नेपाल चिकित्सक सङ्घले शुक्रबार गरेको आन्दोलनका कारण हेटौँडा अस्पतालमा आकस्मिक तथा सघन उपचार सेवाबाहेक सबै सेवा ठप्प गर्दा नागरिक सामान्य स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन् । हेटौँडा बजार क्षेत्रबाट मात्र नभएर ग्रामीण क्षेत्रका नागरिकले समेत उपचार पाउन सकेका छैनन् ।
मकवानपुरको कैलाश गाउँपालिकाको नामटारका वीरमान मोक्तान अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबाट वञ्चित हुनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा आउँदा ओपिडी सेवा बन्द रहेछ, असहज भइरहेको छ तर उपचार पाउन सकिनँ । लामो समयदेखि बिरामी छु । निजी अस्पतालमा जाने क्षमता छैन । सरकारीमा आउँदा चिकित्सक नै छैनन् ।” अस्पतालको टिकट काट्ने कक्ष सुनसान रहेको छ । ओपिडी कक्षमा ताला झुन्ड्याइएको छ । अस्पतालमा सेवा लिन दूरदराजबाट आएका बिरामी यसै फर्कन बाध्य छन् ।
अस्पतालमा उपचारका लागि आउने वीरमान जस्तै अन्य सेवाग्राही आउँदै अस्पतालको टिकट काट्ने ठाउँमा सोध्दै फर्केका देखिन्थे । उपचारका लागि आउनुभएका हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सावित्री महतले उपचार नपाएर फर्कनु परेको भन्दै आव्रmोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस्तो चर्काे घाममा उपचार सेवाका लागि आएँ, तर बन्द रहेछ ।” उहाँले भन्नुभयो, “घरबाट अस्पताल आउँदा र जाँदाको तीन सय रुपियाँ तिर्नु पर्छ । उपचार भने छैन, अब यसै फर्कनुपर्ने भयो ।” उहाँले स्वास्थ्य समस्या भएर आएको अस्पताल सुनसान रहेछ, डाक्टर देखिएनन् ।
यस्तै हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका कृष्णप्रसाद दाहालले फलोअपका लागि आउँदा ओपिडी सेवा बन्द गरेकाले उपचार नै नगरी फर्कन बाध्य भएको बताउनुभयो । हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागार्ईंले सम्पूर्ण रूपमा सेवा बन्द नगर्ने भनिएकोमा चिकित्सकको आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित बनेको बताउनुभयो । सङ्घको आह्वानमा शुव्रmबार सबै सरकारी अस्पताललगायतको आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
नेपाल चिकित्सा शिक्षा आयोगको १६ औँ बैठक अनुसार सरकारी आठौँ तह बराबरको भत्ताको माग गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सक ३० औँ दिनदेखि आन्दोलनमा उत्रिँदा पनि राज्यबाट कुनै सुनुवाइ नभएपछि सबै सेवा ठप्प पार्न बाध्य भएको सङ्घको भनाइ छ । सङ्घले आफ्ना माग सम्बोधन नभएका कारण देशभरिका आकस्मिक तथा सघन उपचार सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा शुव्रmबारबाट ठप्प पार्ने यसअघि नै चेतावनी दिएको थियो ।