• २१ असार २०८१, शुक्रबार

तेजाव र अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक संसदमा पेश गर्ने

blog

काठमाडौं, जेठ २४ गते । सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै गृहमन्त्री बालकृष्ण खाणले सो कुराको जानकारी दिनुभएको हो ।

त्यस्तै, बैठकले सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने र हातहतियार खरखजाना (एघारौं संशोधन) नियमावली, २७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री खाणले प्रहरी नायब महानिरीक्षकहरु उत्तमराज सुवेदी, अरुणकुमार बि.सी., दिवेश लोहनी, मुकुन्द राज आचार्य र पुजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द प्रकाश गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

त्यस्तै, लम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल भवन निर्माणार्थ सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने, गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा स्वीकृत गर्ने र रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ । बैठकले अन्य विभिन्न २३ वटा निर्णय गरेको छ ।