• ७ जेठ २०८१, सोमबार

थाइल्यान्डसँग हारेपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ २४ गते । थाइल्यान्डसँग पराजित भएपछि नेपालको आईसीसी यू–१९ महिला विश्वकप खेल्ने सपना समाप्त भएको छ । मलेसियामा जारी एसिया छनोट अन्तर्गत समूहको चौथो खेलमा मङ्गलबार नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भयो । 

मलेसियाको युकेएम ओभलमा थाइल्यान्डले दिएको ९० रनको विजय लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा सबै विकेट गुमाएर ४० रनमा समेटिएको थियो । नेपालले अब अन्तिम खेलमा मलेसियासँग खेल्नेछ । उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ हुनेछ ।

नेपालका कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । सृष्टि जैसीले सात, साना प्रविनले ६ र अनु कठायतले पाँच रन बनाउनुभएको थियो । नेपाललाई सस्तैमा रोक्न थाइल्यान्डका नन्थिता बोसुखामले तीन विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८९ रन बनाएको थियो । थाइल्यान्डका लागि थिपत्चा पुत्थावोङले २० रन बनाउनुभयो । बान्थिदा लेप्हाथानाले १९ र सुवानन खिओतोले १६ रन जोड्नुभयो ।

बलिङमा नेपालकी मनीषाकुमारी उपाध्याय र कृतिका मरासिनीले दुई दुई तथा स्नेहा महराले एक विकेट लिनुभयो । नेपालको यो दोस्रो हार हो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। यूएईसँगको दोस्रो खेलमा नेपाल ८ रनमा अलआउट भएको थियो । नेपाल यस खेलमा १० विकेटले पराजित भएको थियो ।

सोमबार भएको तेस्रो खेलमा नेपालले भुटानलार्य चार विकेटले पराजित गरेको थियो । चार खेलबाट चार अङ्क बनाएको नेपाल तालिकाको तेस्रो स्थानमा छ । लगातार चौथो जित निकालेको थाइल्यान्ड आठ अङ्कसहित दोस्रो छ । समान आठ अङ्क बनाएको यूएई रन रेटका आधारमा शीर्षस्थानमा स्थानमा छ । 

छनोट खेलमा शीर्षस्थानमा रहने टोली सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने टी–२० विश्वकपमा छनोट हुनेछ । आईसीसीले पहिलो पटक यू–१९ महिला विश्वकप आयोजना गर्न लागेको हो । विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ ।