• १२ वैशाख २०८२, शुक्रबार

आतङ्कवादविरुद्ध हातेमालो

blog

कुनै पनि राजनीतिक वा अन्य लक्ष्य पूरा गर्न हिंसाको प्रयोग महाअपराध हो । इतिहासमा ठुलठुला लडाइँ भए । युद्ध तथा महायुद्ध भए । ती युद्धको निष्कर्ष कहिल्यै राम्रो हुन सकेको देखिएन । हिंसाको कुरूप रूपान्तरण नै युद्ध तथा महायुद्ध हो भन्न सकिन्छ । युद्धले मानव सभ्यतामा थप क्षतिभन्दा अरू केही उपलब्धि गर्न सकेको देखिन्न । हिंसा वा युद्ध जे भए पनि तिनले अतिक्रमण गर्ने भनेको मानवीय मूल्य, मान्यता र आदर्शलाई नै हो । भौतिक तथा मानवीय क्षति नै हो । युद्ध वा लडाइँका पनि कुनै निश्चित नियम हुन्छन् । महाभारत युद्धमा पनि कुनै संहिता थियो तर त्यसले समेत क्षति मात्र गरेको पाइन्छ । महाभारतका कतिपय सन्देश युद्ध वा लडाइँले मानव कल्याण हुन सक्दैन भन्ने निष्कर्षतर्फ छ । हिंसाको विदु्रप त झन् आतङ्क हो । गैरसैनिक सर्वसाधारणमाथि हिंसाको प्रयोग गरी ज्यान लिने कुकार्य हो आतङ्कवाद । आतङ्ककै सहारामा कुत्सित लक्ष्य पूरा गर्न चाहने दुष्ट प्रवृत्तिलाई आतङ्कवाद भन्न सकिन्छ । विश्वमै आतङ्कवादले अनेक तवरले मानव सभ्यतामाथि हमला गरिरहेको छ । दक्षिण एसिया आतङ्कवादी अनेक आक्रमणमा अझ धेरै आक्रान्त छ । छिमेकी मुलुक भारत विगतमा पनि अनेक आतङ्कवादी हमलाबाट पीडित छ । हालै कश्मीरको पहलगाममा भएको क्रूर आतङ्कवादी हमला पछिल्लो कुकार्य हो । त्यसप्रति नेपालले कडा शब्दमा भत्र्सना गरेको छ ।

भारतको उत्तरी राज्य जम्मु कश्मीरमा तीन दिनअघि आतङ्कवादी हमलामा २६ जनाको ज्यान गयो । नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको ज्यान लिने त्यो निहत्था नागरिकमाथि आतङ्कवादी महाअपराध हो । नेपालले त्यस कुकार्यको कडा शब्दमा निन्दा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको ज्यान लिने गरी भएको त्यस आतङ्कवादी हमलाको कडा निन्दा गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बुधबार टेलिफोन वार्ता गर्दै प्रधानमन्त्री ओलीले जम्मु कश्मीरमा भएको जघन्य आतङ्कवादी हमलाको कडा निन्दा गर्नुभएको हो । नेपालले विश्वमा भएका सबै प्रकारका आतङ्कवादी कार्यको घोर भत्र्सना गर्दै आएको छ । भारतीय प्रधानमन्त्रीलाई फोन गरी प्रधानमन्त्री ओलीले सो घटनाको निन्दा गर्नु सहकार्यको ताजा नमुना हो । फोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले त्यस हमलामा अमूल्य जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । ज्यान गुमाउन पुगेकाको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । भारतका प्रधानमन्त्री मोदी विदेश भ्रमणमा रहेको बेला त्यो अमानवीय कुकार्य हुन पुग्यो । तत्कालै प्रधानमन्त्री मोदीले भ्रमण रद्द गरी स्वदेश फर्कनुभयो । आतङ्कवादका कुनै पनि कुकार्यप्रति भारतको कडा प्रतिक्रिया देखिन थालेको छ । कश्मीर आतङ्कमा नेपाली युवाको पनि ज्यान गयो । पर्यटकका रूपमा सपरिवार पुगेका नेपाली युवाको हत्याप्रति भारतले गहिरो समवेदना व्यक्त गरेको छ । आतङ्कवादी हमलामा नेपाली नागरिकको मृत्यु भएकामा प्रधानमन्त्री मोदीले गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले क्रूर आतङ्कवादी हमला गर्ने अपराधीलाई न्यायको कठघरामा उभ्याउन भारत सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभएको छ ।

आतङ्कवादविरुद्धको लडाइँमा नेपाल र भारत एकसाथ उभिएर बलियो सन्देश दिएका छन् । टेलिफोन वार्ताका क्रममा दुई प्रधानमन्त्रीको प्रतिबद्धताले यस क्षेत्रमा अरू आतङ्कवादी क्रूर कार्यले आगामी दिनमा फँणा उठाउन नसकोस् भन्ने बलियो सन्देशसमेत गएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले पनि कश्मीरको पहलगाममा भएको जघन्य आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्नुभएको छ । हमलामा २६ जनाको ज्यान गयो भने अरू कतिपय घाइते भएका छन् । घाइते भएका पीडितप्रति नेपालले गहिरो समवेदना व्यक्त गरेको छ । निर्दोषमाथि कुत्सित उद्देश्य पूरा गर्न गरिने हमला कायरता नै हो । मानव सभ्यताकै कलङ्कसमेत हो । कुनै उद्देश्यका निम्ति शान्तिपूर्ण यत्नले मात्र मानवीय मूल्य, मान्यता र आदर्शको परिपालना गर्न सक्छ । हिंसाले प्रतिहिंसा जन्माउन सक्ने जोखिम रहन्छ । अपराधीविरुद्ध राज्यको कारबाही सहज तवरले मात्र अगाडि बढ्दैन । कहिलेकाहीँ निर्दोषलाई मानव धराप बनाएर अपराधीले दुरुपयोग पनि गरेका हुन सक्छन् । आतङ्कवाद तथा आतङ्कवादीविरुद्धको कारबाहीमा कोही पनि निर्दोष नपरून् भन्नेतर्फ पनि गम्भीर ध्यान दिनुपर्ने हुन्छ । त्यस्ता क्रूर अपराधीलाई कुनै पनि हालतमा न्यायको कठघरामा उभ्याउनै पर्छ । मानव सभ्यता जोगाउन यो कार्यका निम्ति समग्र हातेमालो अपरिहार्य छ ।