• १२ वैशाख २०८२, शुक्रबार

‘पालाम’ प्रचारमा प्रतिबद्ध गङ्गा

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, वैशाख १२ गते । समकालीन साथीहरू सुगम सङ्गीत र पपगीतमा रमाइरहँदा गायिका गङ्गा फियाकले भने लिम्बू भाषाको मौलिक सङ्गीतमा भविष्य देख्न थाल्नुभएको थियो । गायिका फियाकलाई लिम्बू समुदायको लोकगीत ‘पालाम’ पहिलो रोजाइमा पर्नुका कारण के थियो होला ?

“लिम्बू भाषा बोल्ने कम हुँदै गएका छन् । भाषा बोल्ने कम हुँदै गएपछि लिम्बू गीत/सङ्गीत हराउँदै जान्छ,” उहाँले भन्नुभयो, “तसर्थ हराउन लागेको भाषा तथा गीत/सङ्गीत संरक्षणमा योगदान पुर्‍याउन सक्छु कि भनेर यतातिर लागेकी हुँ ।” फाकफोकथुम गाउँपालिका­­–५, लुम्दे, इलाम निवासी उहाँ विद्यालय मात्रै होइन, क्याम्पसमा समेत साथीसङ्गीलाई गीत सुनाउनुहुन्थ्यो । गीत सुनेपछि साथीहरूले भन्थे, “तिम्रो स्वर राम्रो छ ।” 

गाउँघरमा शिक्षण पेसालाई सबैले सम्मान गर्थे । शिक्षिका बन्ने सपना देख्नुभएको उहाँले सोच्दै नसोचेको गायन क्षेत्रमा पहिचान बनाउनुभयो । “बुवा समाजसेवी र राजनीतिमा चासो राख्नुहुन्थ्यो ।” गायनमा लाग्नुका कारण सोध्दा उहाँ बाल्यकालतिर फर्कनुभयो, “सानोमा छिमेकीको टेलिभिजनमा नायकनायिका देख्दा उनीहरू जस्तै बन्न पाए हुने लाग्थ्यो । बुवाको कुरा सुन्दा र टेलिभिजन हेर्दा देखेको सपनाले गीत/सङ्गीततिर डोर्‍यायो ।”

बहिनीको सपना साकार पार्न जेठा दाजु गोविन्दप्रकाश फियाक ‘खोल्से जेठा’ को योगदान छ । विसं २०७४ सालमा दाइकै लगानी र शब्दमा ‘मुक्कुमलुङ सम्धाङ’ बोलको लिम्बू भाषाको गीत ब्रबिम सेर्मासँग पहिलो पटक रेकर्ड गर्नुभयो । त्यसयता उहाँले ६५ वटा गीत रेकर्ड गराइसक्नुभएको छ । तीमध्ये १० वटा मात्र नेपाली भाषाका छन् । लिम्बू भाषाका गीतमध्ये अधिकांश पालाम हुन् । गीतको अधिकांश भिडियोमा गङ्गाले अभिनय गर्नुभएको छ । विवाह, मेला र भेलामा महिला र पुरुष हात समाएर पालाम गाउँदै धान नाच्छन् । पछिल्लो समय धान नाच्ने चलनसँगै पालाम लोप हुने अवस्थामा पुगेको छ । २०७४ सालमा लिम्बू भाषाको गायन प्रतियोगिता ‘फक्ताङ्लुङ आइडल’ मा उपविजेता बनेपछि उहाँको साङ्गीतिक यात्राले निरन्तरता पायो । अग्रजले संरक्षण गरेको गीत/सङ्गीत संरक्षण गर्दै आफू जस्तै कलाकारले पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो कर्तव्य रहेको उहाँको बुझाइ छ ।