• २० असार २०८१, बिहिबार

नगरप्रमुख हुँदा पाएको तलब गरिबको उपचारमा

blog

तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल
बैतडी, जेठ २४ गते ।
नगरप्रमुख हुँदा पाएको १४ लाख रुपियाँ बराबरको तलब/भत्ता गरीबको उपचारमा खर्च गरेर केशवबहादुर चन्द नगरप्रमुखबाट बिदा हुनुभएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बैतडीको पाटन नगरपालिकाको नगरप्रमुख पदमा विजयी हुनुभएका चन्दले पाँच वर्षसम्म पाएको १९ लाख रुपियाँ तलब/भत्ताबाट १४ लाख रुपियाँ विभिन्न सामाजिक कार्य र गरिबको उपचारमा खर्च गर्नुभएको हो ।

निवर्तमान नगरप्रमुख चन्दले सोेमबार बैतडीको पाटनमा आफ्नो पाँच वर्षे कार्यकालको समिक्षात्मक कार्यक्रमको आयोजना गरेर १४ लाख ९० हजार रुपियाँ गरिबको उपचारमा खर्च गरेको सार्वजनिक गर्नुभयो ।

पाँच वर्ष नगरप्रमुख हुँदा पाएको तलब भत्ताबाट पाटन बहुमुखी क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान, स्वर्गीय भानबहादुर चन्द स्मृति कोष स्थापना, कोरोना महामारीका बेला राहत तथा निःशुल्क एम्बुलेन्स सेवा, आर्यघाट व्यवस्थापन र दर्जनौ बिरामीहरुको औषधि उपचारमा सहयोग गरेको चन्दले  बताउनुभयो । 

चन्दले आफू पैसा कमाउन नभई समाजसेवा गर्न नगर प्रमुखको पदधारण गरेको बताउनुभयो । पूर्व सहायक मन्त्रीसमेत रहनुभएका चन्दले भन्नुभयो, “म प्रमुख हुँदा मलाई पैसाको लोभ कहिल्यै लागेन् । मेरा छोराछोरी विदेशमा छन् । उनीहरुले मासिक खर्च पठाइरहन्छन् । मैले विगतमा निर्माण गरेको एक होटलबाट एक डेढ लाख रुपियाँ मासिक भाडा आउँछ । त्यसैले सरकारी सेवाबाट आएको तलब भत्ता समाजसेवामा खर्च गरेको हुँ ।’’

नगरप्रमुखबाट बिदा हुनुभएका चन्दलाई औषधि उपचार खर्च पाउने पाटनका स्थानीयले फूलमाला लगाउँदै चन्दको प्रशंसा गरेका छन् ।