• ९ जेठ २०८१, बुधबार

आधारभूत तह अध्ययन गर्ने बालबालिकाको सङ्ख्यामा वृद्धि

blog

फाइल तस्बिर

यादवराज पुरी/रौतहट समाचारदाता
रौतहट, जेठ २४ गते ।
रौतहटको उत्तरी क्षेत्रका विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमले बालबालिका विद्यालयप्रति आकर्षित भएका छन् ।

दिवा खाजा सञ्चालनमा आएदेखि आधारभूत तहमा अध्ययन गर्ने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको कारण विद्यालयप्रति बालबालिकाको आकर्षण बढेको बुझिएको हो ।

जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेको आधारभूतदेखि माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म अध्ययन गर्ने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ ।

‘‘विद्यालय उमेर समूहका धेरै बालबालिका घरमा नै बस्थे । विद्यालय भर्ना भएका बालबालिका समेत नियमित उपस्थित हुँदैनथे । पढ्दापढ्दै बीचमै विद्यालय छाड्थे तर दिवा खाजा कार्यक्रमको प्रभावकारीताले उक्त सबै समस्या समाधान भएकोमा गर्व छ ।,’’ चन्द्रपुर नगरपालिकाका शिक्षा प्रमुख दीपेन्द्रकुमार मण्डलले भन्नुभयो ।

नगरपालिकामा कक्षा १ देखि ५ सम्म २३, १ देखि ८ सम्म १२ र १ देखि १२ सम्म १२ वटा गरी ४७ वटा विद्यालय सञ्चालनमा छ । जसअन्तर्गत मदरसा पनि पर्छ । उक्त सङ्ख्याका सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालित छ । खाजा कार्यक्रम सुरु भएयता नगरको सबै विद्यालयमा आधारभूत तहका बालबालिकाको सङ्ख्या बढ्दो छ । शिक्षा प्रमुख मण्डलका अनुसार आधारभूत तहका २० जना बालबालिका अध्ययन गर्ने विद्यालयमा अहिले ५० भन्दा बढी बालबालिका नियमित उपस्थित हुन्छन् ।

जल्लाको नमूना विद्यालयमा छनौट भएको जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुरका प्रधानाध्यापक शंकर भट्टराई भन्नुहुन्छ, “दिवा खाजा कार्यक्रम लागू हुनुभन्दा अघि आधारभूत तहमा अध्ययन गर्ने बालबालिका गाउँगाउँ गएर खोज्नु पर्ने अवस्था थियो तर खाजा कार्यक्रमले विद्यालय उमेरका सबै बालबालिकालाई सकारात्मक प्रभाव पारेको छ । अहिले उक्त तहमा बालबालिकाको सङ्ख्या उच्च रहेको छ ।”

यस्तै कृष्ण माध्यमिक विद्यालय वालचनपुर र दिपज्योति प्राथमिक विद्यालय कुशुवारटोलमा दिवा खाजा कार्यक्रमकै प्रभावले आधारभूततहमा बालबालिको सङ्ख्या निकै वृद्धि भएको शिक्षा प्रमुख मण्डल बताउनुहुन्छ । उहाँकाअनुसार दिवा खाजा कार्यक्रमले विद्यालय उमेर समूहका बालबालिका घरमा नबसी पढ्न जाने गरेको पाइन्छ तर कुनै–कुनै विद्यालय खाजा व्यवस्थापन समिति निर्माण भएको छैन । त्यस्ता विद्यालयमा मापदण्ड बमोजिम खाजा नखुवाएकाले कारबाहीमा समेत परेका छन् ।

बालबालिकाको शिक्षामा पहुँच, निरन्तरता, गुणस्तर अभिवृद्धि र स्वास्थ्यमा सुधारका लागि सञ्चालित दिवा खाजा कार्यक्रमको प्रभावले शिक्षाप्रति बालबालिको मोह बढेको बताउनुहुन्छ अम्विका निम्न माध्यमिक विद्यालय चन्द्रपुर–५ का अभिभावक अन्तु चालिसे ।