• ११ वैशाख २०८२, बिहिबार

प्रशासनमा सीमा पास लिन घुइँचो

blog

सीमा पास लिने सेवाग्राही । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, वैशाख ११ गते । यतिबेला जिल्ला प्रशासन कार्यालय हुम्लामा सीमा पास लिने सेवाग्राहीको घुँइचो लाग्ने गरेको छ । नाम्खा गाउँपालिका–५ को नारा लेकमा जमेको हिउँ पग्लिएपछि चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि जिल्लाबाट सीमा पास लिनेको सङ्ख्या बढेको छ । 

पुरानो सीमा पासलाई नवीकरण गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा लाइनमा बसेकी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीकी छिरिङकार्बु तामाङले पास नवीकरण गराउनका लागि लिमीबाट सदरमुकाम सिमकोट आएको बताउनुभयो । काम गर्न ताक्लाकोट जाने समय भइसकेकाले लिमीबाट तीन दिन हिँडेर सदरमुकाम पुगेर सीमा पास बनाएको र अब सिधै ताक्लाकोट जाने जनाउनुभयो । पास तयार भएकाले छ महिनाका लागि ताक्लाकोट गएर काम गर्ने बताउँदै उहाँले लिमीमा बस्नेमध्ये ७० प्रतिशतले ताक्लाकोट पुगेर काम गर्ने गरेको बताउनुभयो । 

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले रोजगारीका लागि ताक्लाकोट मुख्य भएका कारण लिमीबाट सीमा पास बनाउनका लागि धेरै जना सिमकोट आइपुगेको बताउनुभयो । अन्य देशमा जान नसक्ने लिमीका बेरोजगारहरू ताक्लाकोट गएर छदेखि आठ महिनासम्म काम गरेर कमाइ गरी ल्याउने र त्यसैबाट घरव्यवहार चलाउने गर्छन् । 

वैशाख १ देखि ९ गतेसम्म जिल्ला प्रशासन कार्यालयबाट नयाँ सीमा पास लिनेको सङ्ख्या १९५ जना पुगेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताउनुभयो । सो अवधिमा नवीकरण गर्ने सङ्ख्या २१५ वटा रहेको उहाँले बताउनुभयो । उहाँले मित्रराष्ट्र चीनको ताक्लाकोट जाने समय सुरु भएका कारण सीमा पास लिनेको घुइँचो नै हुने गरेको बताउनुभयो । चीनले सीमा जोडिएका जिल्लाका स्थायी बासिन्दालाई सिमानाबाट ३० किलोमिटरसम्म सो पासका आधारमा जान दिने गर्छ ।