रलिङ समाचारदाता
(रलिङ) हुम्ला, वैशाख ११ गते । शिक्षक अन्दोलनका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । शिक्षक आन्दोलनकै कारण हुम्लामा २१ दिनदेखि सम्पूर्ण विद्यालयमा पठनपाठन ठप्प भएको हो । काठमाडौँकेन्द्रित नेपाल शिक्षक महासङ्घको आन्दोलनलाई समर्थन गर्दै हुम्लाका शिक्षकले जिल्लामा आन्दोलन जारी राख्दै आएका कारण विद्यालयमा पठनपाठन बन्द भएको छ ।
विद्यालयमा पठनपाठन गर्न छाडेर शिक्षक आन्दोलनमा उत्रिएपछि विद्यार्थीले छिटो विद्यालय खोल्न आग्रह गरेका छन् । नाम्खा गाउँपालिका–४ स्थित महाबौद्ध मावि कक्षा १० मा अध्ययनरत छात्रा सत्या बुढाले अब ढिलो हुन लागेको बताउँदै छिटै विद्यालय खुलाउन आग्रह गर्नुभयो । उहाँका अनुसार दुर्गमको शिक्षामा लामो समयसम्म आन्दोलन जारी राखे गुणस्तर झन् खस्किने छ । गाउँबाट करिब दुई/तीन दिन लगाएर विद्यालयमा आएका आफू जस्ता विद्यार्थीको पीडा नसम्झेर आफ्नो मागका लागि शिक्षकशिक्षिका आन्दोलनमा उत्रिनुले विद्यार्थीको भविष्य के हुने हो ? त्यो भने सम्बन्धित सरोकारवाला निकाय र विद्यालयका शिक्षकले बुझ्नुपर्ने भनी उहाँले गुनासो गर्नुभयो ।
आन्दोलनकै कारण यो वर्ष समयमा पाठ्यक्रम सकिनेमा चिन्ता रहेको बताउँदै उहाँले समयमा पढाइ सकिएन भने परीक्षा पनि राम्रो नहुने दुःखेसो पोख्नुभयो । जिल्लामा शिक्षकले आन्दोलन गर्दा जिल्लाभरि पठनपाठन ठप्प भएको नेपाल शिक्षक सङ्घका केन्द्रीय उपमहासचिव कालीबहादुर शाहीले बताउनुभयो । सरकारले समयमै महासङ्घले राख्दै आएका माग सम्बोधन नगरेका कारण जिल्लामा पठनपाठन बन्द भएको उहाँले बताउनुभयो ।
गत चैत २० गतेदेखि हुम्ला जिल्लाका शिक्षकले आन्दोलन गर्दा पनि सरकारले शिक्षकका माग पूरा गर्ने कुनै छाँट नदेखाएको भन्दै हुम्लाका शिक्षकले आन्दोलन जारी राख्दै आएका छन् । दैनिक र्यालीसँगै शिक्षा विकास तथा समन्वय एकाइमा पुगेर धर्ना गर्दै आएका छन् । शिक्षक आन्दोलनका कारण जिल्लाका ११८ आधारभूत र २८ माध्यमिक विद्यालयका २० हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख योगेश आलेमगरले बताउनुभयो ।