• ११ वैशाख २०८२, बिहिबार

पौवादुङमामा कृषि एम्बुलेन्सले किसानलाई राहत

blog

गोकुल भुजेल

भोजपुर, वैशाख ११ गते । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । यो कार्यले पालिका भरी उत्पादन भएका कृषि उपजलाई स्थानीय र बाह्य बजारसम्म पुर्‍याउन सहज भएको छ । 

स्थानीय कृषकहरूले उत्पादन गरेको तरकारी,खुर्सानी, खाद्यान्न,फलफूल लगायत कृषि उपजलाई सहज र सुलभ मूल्यमा स्थानीय र बाह्य बजार सम्म पुर्‍याउन कृषि एम्बुलेन्स सञ्चालन गरिएको पालिकाले जनाएको छ ।  कृषि एम्बुलेन्सले एक पटकमा २५ सय केजी सम्म सामान ढुवानी गर्न सक्छ भने पालिका केन्द्र देखी धरान सम्मका लागि १० हजार भाडादार कायम गरिएको छ । 

विगतमा किसानहरूले महँगो भाडा तिरेर कृषि उपजहरू स्थानीय बजार र बाह्य धरान, इटहरी काठमाडौँ सम्म पठाउने गरेको पाइन्छ ।  

गाउँपालिकाले स्थानीय बजारलाई मध्यनजर गरेर न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने र सोही आधारमा कृषि उत्पादन खरिद गरी व्यापारी तथा विक्रेताले किनबेच गर्न सक्नेछन् । कृषकहरूले उत्पादन गरेको कृषि सामग्री बजारीकरणका लागी  पालिकाले न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि उपज बिक्री वितरणका लागि बजार, विक्रेतासँग समन्वय, अन्य नगरपालिका तथा उपमहानगरपालिकासँग बजारीकरणका विषयमा समन्वय र छलफल समेत भएको छ । 

त्यस्तै पालिका क्षेत्रमा अत्यधिक उत्पादन हुने अकबरे खुसार्नीलाई पालिकाले प्रशोधन र ब्रान्ड गर्ने तयारी समेत रहेको छ  ।