• ११ वैशाख २०८२, बिहिबार

आज एक युगान्तकारी परिवर्तन: कार्यवाहक सभापति : खड्का

blog

काठमाडौँ, वैशाख ११ गते । आज एक युगान्तकारी परिवर्तन  भएको दिन अर्थात् नेपाली जनताले लोकतन्त्र प्राप्ति गरेको दिन भएको नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताउनुभएको छ । लोकतन्त्र दिवसको सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । 

राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारका लागि पटक–पटक भएका क्रान्ति, सङ्घर्ष र आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने वीर शहीदहरूप्रति लोकतन्त्र दिवसका अवसरमा उहाँहरूको समर्पण, साहस र बलिदानको स्मरण र सम्मान गर्दै उहाँहरूप्रति सन्देश मार्फत श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

विसं २००७ साल अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरङ्कुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि २०६२÷०६३ मा नेपाली काँग्रेसको नेतृत्वमा अन्य राजनीतिक दलहरू समेतद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको उहाँको बताउनुभएको छ ।

यो परिवर्तनसँगै मुलुकमा नेपाली जनताको इच्छा र चाहना अनुरूप आफ्ना जनप्रतिनिधिद्वारा संविधानसभा मार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी भई कार्यान्वयन भैसकेको छ । यो संविधानको सुदृढीकरण गर्दै मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउने जिम्मेवारी हामी सबैको काँधमा आएको सन्देशमा उल्लेख गर्नुभएको छ ।