• ११ वैशाख २०८२, बिहिबार

सातुसामल बोकेर यार्चागुम्बा सङ्कलनमा

blog

फाइल तस्बिर

खलङ्गा समाचारदाता  

दार्चुला, वैशाख ११ गते । दार्चुलाका स्थानीयको मुख्य आयस्रोतका रूपमा रहेको हिमाली बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलन गर्ने समय सुरु भएको छ । सङ्कलन समय सुरु भएसँगै स्थानीय यार्चागुम्बा पाइने पाटनमा पुग्न थालेका छन् । 

अपिहिमाल गाउँपालिकाको सिती, घुसा र खण्डेश्वरीलगायत स्थानका स्थानीयले यार्सागुम्बा सङ्कलन अवधिभर आवश्यक पर्ने सातुसामल (दैनिक उपभोग्य वस्तु र ओढ्ने ओछ्याउने कपडा) पाटनमा पु¥याइसकेको अपिहिमाल गाउँपालिका पर्यटक एकाइ शाखाका प्रमुख विसन बुढाथोकीले जानकारी दिनुभयो । 

सातुसामलसहित पाटन गएका स्थानीय बाटोको अवस्था, यार्चागुम्बा पाइने पाटनमा रहेको हिउँ घटेको नघटेको बारे जानकारी लिएर फर्किएको उहाँले बताउनुभयो । अबको केही दिनपछि पाटनतिर गएर यहाँका स्थानीय यार्चागुम्बा सङ्कलनको काम सुरु गर्ने तयारीमा छन् । यार्चागुम्बा ओसारपसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्चा पाइने पाटन जेठ १५ देखि असार १५ गतेसम्म खुल्ने समय अवधि रहे पनि दार्चुलाका स्थानीय सोअगावै पाटन गएर यार्चागुम्बा सङ्कलन सुरु गर्ने गर्दछन् । समय परिमार्जन गर्नुपर्ने स्थानीयले माग गरेका छन् । यार्चागुम्बा सङ्कलन तथा व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको सरकारी निकाय अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाखको पहिलो साताबाट सङ्कलकलाई यार्चागुम्बा सङ्कलन अनुमतिपत्र वितरण सुरु गरेको कार्यालयका वार्डेन विनय झाले जानकारी दिनुभयो ।

कार्यविधि अनुसार आगामी जेठको १५ देखि असारको १५ गतेसम्म पाटन खुला हुन्छ, केही स्थानीय यार्चागुम्बा सङ्कलनका लागि चाँडै जाने गरेको उहाँले बताउनुभयो । यस वर्ष आठ सय किलोग्रामका लागि सङ्कलन अनुमतिपत्र दिनुका साथै पाटन प्रवेश अनुमति दस्तुर पनि तोकिएको छ । स्थानीयका लागि पाँच सय, स्थानीयभन्दा बाहिरका लागि दुई हजार र जिल्लाका बाहिरका लागि तीन हजार दस्तुर तोकिएको उहाँले बताउनुभयो । दार्चुलाको अपिहिमाल, ब्याँस, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोत भनेको यार्चागुम्बा र जडीबुटी हो । जिल्लाको लोलु, अपि फेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्चागुम्बा पाइन्छ ।