• ११ वैशाख २०८२, बिहिबार

रोजगारीबाट फर्किएकालाई स्वास्थ्योपचारको व्यवस्था

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख ११ गते । वैदेशिक रोजगारीका क्रममा स्वास्थ्य समस्या परेर स्वदेश फर्किएका श्रमिकको शारीरिक तथा मानसिक स्वास्थ्य परामर्श तथा उपचारको व्यवस्था गर्ने निर्णय भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दुई दिनअघि संयुक्त अरब इमिरेट्स (युएई) मा पुगेर गरेको घोषणा अनुरूप वैदेशिक रोजगारीमा विदेश रहेका श्रमिकलाई स्वदेशमा फर्कंदा तथा विदेश रहँदा स्वास्थ्य समस्या परेमा समाधान गर्नेगरी सो निर्णय गरिएको हो । 

यस योजना अनुसार काम गर्ने गरी भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बेग्लै वार्डको व्यवस्था गरिने छ । सो वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि केन्द्रले बेग्लै निःशुल्क ओपिडी वार्ड स्थापना गर्ने र वैदेशिक रोजगारीबाट फर्केका जोकोहीले केन्द्रमा गएर सोही वार्डमा गएर निःशुल्क परीक्षण गराउन सक्ने मन्त्री पौडेलको सचिवालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । 

सचिवालयका अनुसार सो केन्द्रले वैदेशिक रोजगारीमा जानेका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने अभिमुखीकरण तालिममा नसर्ने रोगसम्बन्धी जानकारी र बच्न अपाउन सकिने उपायबारे जानकारीका लागि विज्ञ चिकित्सक खटाउने भएको छ । 

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि वैदेशिक रोजगार विभागबाट अनुरोध आएमा लागत खर्चमा मात्र परीक्षण रिपोर्टसमेत उपलब्ध गराउन सकिने जानकारी दिनुभयो । 

यो निर्णय कार्यान्वयनमा आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्यमा निरोधात्मक तथा उपचारात्मक दुवै सुधार हुने भएकाले अहिले देखिएको स्वास्थ्य समस्यामा कमी आउने विश्वास स्वास्थ्य मन्त्रालयको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरेर दुई वर्षदेखि वीर अस्पतालमा टेलिमेडिसिन सेवा पनि सञ्चालन गर्दै आएको छ ।