गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ११ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको भएको बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयले स्रोतको व्यवस्थापन र सहजीकरण गर्ने र विनियोजित बजेट कार्यान्वयन तथा खर्चको प्रगति हासिल गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको भएको स्पष्ट पार्नुभएको हो ।
“अहिलेसम्म सम्पूर्ण पुँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ, त्यस्तो बुझाइ गलत हो,” उहाँले भन्नुभयो । अर्थमन्त्री पौडेलले बेरुजु फस्र्योट, वैदेशिक लगानी सहजीकरण, पुँजी परिचालन, आधुनिक प्रविधिको प्रयोग, सेवा प्रवाहलगायतलाई ध्यान दिएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
बैठकमा नेपाल राष्ट्र बैङ्कका कायममुकायम गभर्नर नीलम ढुङ्गानाले परिसूचकले अर्थतन्त्र बिस्तारै लयमा आएको देखाएको उल्लेख गर्दै वित्तीय स्थायित्वमा जोड दिनुभयो । अर्थ सचिव घनश्याम उपाध्यायले नियमन र कारबाहीलाई प्रभावकारी बनाउँदै अघि बढ्न आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । राजस्व सचिव दिनेशकुमार घिमिरेले आन्तरिक सुशासनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।