काठमाडौँ, वैशाख १० गते । अन्तिम समयमा म्याथियस नुनेजले निर्णायक गोल गरेपछि म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लामाथि रोमाञ्चक जित निकालेको छ ।
घरेल मैदानमा मङ्गलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सिटीले एस्टन भिल्लालाई २–१ गोलले हरायो । सिटीलाई जित दिलाउन बर्नार्न्डो सिल्भाले सातौँ मिनेटमा गोल गर्नुभयो । नुनेजले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गर्नुभयो ।
यसअघि एस्टन भिल्लाका लागि मार्कुस रासफोर्डले १८औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । दोस्रो हाफमा कडा टक्कर दिए पनि एस्टनले गोल गर्न नसक्दा सिटीले तीस्न अङ्क बटुल्यो ।
जितसँगै ३४ खेलमा ६१ अङ्क बनाएको सिटी तेस्रो स्थानमा उक्लिएको छ । पराजित एस्टन समान खेलबाट ५७ अङ्क जोड्दै सातौँ स्थानमा छ । शीर्षस्थानमा रहेको लिभरपुलको ३३ खेलबाट ७९ अङ्क र दोस्रो स्थानमा रहेको आर्सनलको ६६ अङ्क छ । एजेन्सी