नौरते नेपाली
सिंजा (जुम्ला), वैशाख १० गते । शिक्षक अन्दोलनका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । गत चैत २० गतेदेखि शिक्षक आन्दोलनकै कारण जुम्लामा २१ दिनदेखि पूर्ण रूपमा विद्यालयमा पठनपाठन ठप्प भएको हाे ।
काठमाडौँ केन्द्रित नेपाल शिक्षक महासङ्घको आन्दोलनलाई समर्थन जनाउँदा पठनपाठन बन्द भएको हो । शिक्षक आन्दोलनमा उत्रिएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको चन्दननाथ नगरपालिका १० का सचेत युवा लोकेन्द्रराज गिरीले बताउनुभयो ।
उहाँका अनुसार शिक्षकको आन्दोलनका कारणले विद्यार्थीमा ठुलो असर परेको बताउनुभयो । उहाँले भन्नुभयो, "एकातिरको आन्दोलन हेर्दा ठिकै लाग्छ तर, अर्कोतिर हेर्दा विद्यार्थीको भविष्यमा नकारात्मक असर परेको छ ।" आन्दोलनलाई मथ्थर बनाउन शिक्षा ऐनको जारी गर्नु पर्ने गिरीको भनाइ छ । २१ दिनदेखि शिक्षक आन्दोलनका लागि काठमाडाैं केन्द्रित भएपछि पठनपाठनमा असर परेको विद्यार्थीको गुनासो छ ।
गत तीन सातादेखि विद्यालयमा शिक्षक सहभागी नभई काठमाडाैं केन्द्रित भएकाले विद्यार्थीले शिक्षा पाउनबाट वञ्चित भएका छन् । शिक्षकले आन्दोलन गर्दा जिल्लाभर पठनपाठन ठप्प भएको नेपाल विद्यालय कर्मचारी परिषदका महासचिव शान्तिनाथ योगीले बताउनुभयो । उहाँका अनुसार सरकारले समयमै परिषदले राख्दै आएका माग सम्बोधन नगरेका कारण जिल्लामा पठनपाठन बन्द भएको बताउनुभयो ।
शिक्षक आन्दोलनका कारण जिल्लाका एक सय २१ वटा आधारभूत र ५२ माध्यमिक विद्यालयका ३५ हजार ४ सय ८७ विद्यार्थीको पठनपाठन प्रभावित भएको शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका एकाइ प्रमुख शेरबहादुर रोकायाले जानकारी दिनुभयो ।