इमान सिं राना
रामपुर (पाल्पा), वैशाख १० गते । वनमा लागेको डढेलो बस्तीमा पस्दा पाल्पामा एक घरगोठ जलेर नष्ट भएको छ । मङ्गलबार निस्दी गाउँपालिका–१, बाकामलाङ जुरेडाँडामा स्थानीय दिलबहादुर सारुको घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
अपराह्न घरमा कोही नभएको अवस्थामा लागेको आगोले सारुको घर र गोठ पूर्णरुपमा जलेर नष्ट भएको हो । आगोमा परी गोठमा रहेको एक वटा गाई, एउटा भैंसी र साना पाठापाठी र माउ गरी २० वटा बाख्रा जलेर मरेको छ । घरभित्र रहेको अन्नपात, भाँडाकुँडा, लत्ताकपडासँगै ३० हजार बराबरको नगद र डेढ तोलाको गरगहनासमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो ।
आगोलागीबाट २५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । घरनजिकै जङ्गलमा लागेको आगो हावाहुरी चलेपछि बस्तीमा पसेको थियो । केलादी प्रहरी चौकीका अनुसार सुरुवातमा खरले छाएको गोठमा आगो सल्किएको थियो । त्यस पश्चात खर र जस्ताले छाएको घरमा आगो लागेको थियो । स्थानीयको प्रयासमा साँझपख मात्र आगो नियन्त्रणमा आएको हो । पीडित परिवार अहिले छिमेकीको घरमा बस्नुभएको छ ।