• १० वैशाख २०८२, बुधबार

साधु बनेका अङ्गुलीमाल

blog

भगवान् गौतम बुद्धको जीवनमा अनेकौँ महत्वपूर्ण घटना भए । तीमध्ये उनको जीवनकालमा भएको एउटा घटना विशेष छ । एक खुङ्खार डाँका भगवान् गौतम बुद्धलाई जङ्गलको एकान्तमा भेटेको बेलामा मार्न चाहन्थे तर उनी पछि बुद्धको पाउमा परे, उनको जीवन फेरियो ।

भगवान् गौतम बुद्ध एसियाका ज्योति तथा विश्वशान्तिका अग्रदूत हुन् । भगवान् गौतम बुद्धको जन्म भएको, ज्ञान प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिन वैशाख शुक्ल पूर्णिमाका दिनलाई बुद्ध जयन्ती पर्वका रूपमा मनाइन्छ । 

यो पर्व विश्वभरिकै बौद्ध धर्मावलम्बीको महान् पर्व हो । २५६३ वर्षअघि इसापूर्व ५६३ मा तिलौराकोटका राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म वैशाख पूर्णिमाको दिन भएको थियो । मायादेवी आफ्नो माइती देवदह जाने क्रममा लुम्बिनीमा बुद्ध जन्मेका थिए । २९ वर्षको उमेरमा घरबार त्यागेर संसारलाई नै मुक्ति दिने उद्देश्य लिई निस्केका सिद्धार्थलाई छ वर्षको तपस्यापछि वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्त भएको थियो । 

भारतको कुशीनगर भन्ने ठाउँमा उनले मुक्ति प्राप्त गरे । त्यो दिन पनि वैशाख पूर्णिमाकै थियो । यसैले बुद्धको जन्मेको स्थल लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया र निर्वाण प्राप्तिको स्थान कुशीनगरमा वैशाख पूर्णिमाका दिन ठूलो मेला लाग्दछ । बौद्ध धर्मावलम्बीहरू यस पावन दिनलाई बडो हर्षका साथ मनाउँछन् । 

भगवान् गौतम बुद्धको जीवनमा अनेकौँ महत्वपूर्ण घटना भए । तीमध्ये उनको जीवनकालमा भएको एउटा घटना विशेष छ । एक खुङ्खार डाँका भगवान् गौतम बुद्धलाई जङ्गलको एकान्तमा भेटेको बेलामा मार्न चाहन्थे तर उनी पछि बुद्धको पाउमा परे, उनको जीवन फेरियो । 

महात्मा बुद्धको समयमा अङ्गुलीमाल नामका एक डरलाग्दा डाँका थिए । अङ्गुलीमालको बालककालको नाम अहिंसक थियो । उनका पिता कौशल नरेश प्रसेनजितको राजपुरोहित थिए । बालककालदेखि नै अहिंसकको शिक्षादीक्षाको व्यवस्था राज–गुरुकुलमा गरियो । गुरुकुलमा रहेर विद्याबुद्धिमा तेज, सबैको आज्ञा मान्ने भएकाले अहिंसक सबैका प्यारा थिए । 

गुरुको प्यारो त उनी छँदै थिए, आज्ञाकारी पनि भएकाले गुरुआमा पनि उनलाई ज्यादा नै माया गर्दथिन् । यसबाट उनका साथी अहिंसकसँग ईष्र्या गर्दथे । गुरुकुलको पढाइ पूरा भइसकेको थियो । गुरुकुलमा दीक्षान्त समारोहनजिक आउँदै गर्दा उनका ईष्र्यालु साथीले आमाछोराको पवित्र सम्बन्धलाई कलङ्कको नाम दिएर गुरुलाई झुटो कुरा सुनाइदिए । 

क्रोधमा आएर गुरुले अहिंसकसँग गुरुदक्षिणाका रूपमा मान्छेको दाहिने हातको एक हजार बूढीऔँला मागे ।

आज्ञाकारी अहिंसकले गुरुको आज्ञा शिरोपर गरेर मान्छेको बूढीऔँला सङ्कलन गर्न लागे । कसैले पनि आफ्नो औँला काटेर दिने कुरा त आएन । गुरु–दक्षिणाका लागि अहिंसकले जे गरेर, जसो गरेर हुन्छ औँला सङ्कलन गरेर माला बनाई घाँटीमा लगाउन थाले । जब कुनै बटुवा जङ्गलको बाटो भएर हिँड्दथे अङ्गुलीमाल उसको धनसम्पत्ति लुट्दथे । त्यसपश्चात् बटुवालाई मारेर उसको बूढीऔँला काटेर मालाका रूपमा आफ्नो घाँटीमा लगाउँथे । 

यसरी मान्छे मारेर औँलाको माला घाँटीमा लगाउने भएकाले उनलाई अङ्गुलीमाल भन्न थालियो । अङ्गुलीमालको हत्या, हिंसा र आतङ्कको चर्चा मगध देशको सोनापुर गाउँ, शहर हुँदै महाराज प्रसेनजितको दरबारसम्म पुग्यो । महाराज प्रसेनजित अङ्गुलीमाललाई समातेर दण्ड दिने प्रयासमा थिए तर सबै प्रयास व्यर्थ भए । 

त्यस समयमा भगवान् बुद्ध कौशल राज्यमा रहन्थे । उहाँले एक दिन आफ्ना शिष्यद्वारा डाँका अङ्गुलीमालको अत्याचारको जानकारी पाए । उनले त्यस डाँकालाई एक सन्त पुरुषमा रूपान्तरण गर्ने निश्चय गरे । त्यसैले एक दिन भोजनपश्चात् बुद्ध पात्र चिवर धारण गरेर अङ्गुलीमाल रहेको जङ्गलतिर विहारका लागि लागे । 

त्यस भेगका किसान, ग्रामीणले उनलाई त्यहाँ नजान आग्रह गरे । बुद्धका शिष्यले पनि उनलाई यस्तो दुस्साहस नगर्न अनुरोध गरेका थिए तर बुद्धका कदम अङ्गुलीमाल रहेको जङ्गलतिर निर्भयका साथ अघि बढे । घनाजङ्गलको बीचमा पुगेपछि एक कठोर आवाज बुद्धको कानमा पर्‍यो– “ए तपस्वी ! त्यहीँ रुक ! कहाँ जाँदैछौ ? अगाडि नबढ !”

भगवान् बुद्ध यसरी हिँडिरहे मानौँ उनले केही सुनेका छैनन् । पछाडिबाट जोडले आवाज आयो “म भन्दैछु त्यही रोक !” 

बुद्ध रोकिए र पछाडि फर्केर हेरे । उनले देखे अगाडि एक खुङ्खार  कालो वर्णको मानिस उभिएको छ । अग्लो चौडा शरीर, राता आँखा भएको मानिस हातमा तरबार लिएर बुद्धलाई घुर्दै थियो । उसको घाँटीमा औँलाका माला झुन्डिएको थियो । 

भगवान् बुद्धले शान्त र मधुर स्वरमा भने, “म त स्थिर नै छु ! तर तिमी दौडिरहेका छौ, कुदिरहेका छौ । तिमी चाहिँ कहिले रोकिन्छौ ?”

अङ्गुलीमालले बुद्धको मुहारमा हेर्‍यो र चकित पर्‍यो । उनको  अनुहारमा डर र त्रासको क्लेश थिएन । जो मानिसलाई उसले रोक्दथ्यो ऊ डर र त्रासले थरथर काँप्थ्यो । 

अङ्गुलीमालले भन्यो, “हेर सन्न्यासी ! तिमीलाई मेरो अगाडि उभिँदा हुँदा डर लागेको छैन ? हेर ! मैले कति धेरै मानिसलाई मारेर उनीहरूको औँलाको माला लगाएको छु ।”

अनि बुद्धले भने, “तिमीसँग के डराउनु । डराउनु नै छ भने ऊसँग डराउनु जो वास्तवमै बलवान् छ ।”

यो कुरा सुनेर अङ्गुलीमालले जोडले हाँसेर भन्यो, “हे सन्न्यासी ! तिमीले ठानेका छौ म बलवान् छैन ! म त एक पटकमा १०/१० मानिसको शिर काट्न सक्छु ।”

बुद्धले भने, “यदि तिमी साँच्चिकै बलवान् हौ भने जाऊ त्यो रुखको दुई पत्ता पात टिपेर ल्याऊ ।”

अङ्गुलीमालले तुरुन्तै दुई पात टिपेर बुद्धका अगाडि ल्याइदिए । “ल यसमा के छ ? भन्छौ भने म रुख नै उखेलेर ल्याइदिऊँ !” 

बुद्धले भने, “पर्दैन ! रुख उखेल्नु आवश्यक छैन । यदि तिमी वास्तवमा नै बलवान् छौ भने यी पातलाई पुनः रुखका हाँगामा जोडिदेऊ !”

अङ्गुलीमालले क्रोधित हुँदै भन्यो, “असम्भव ! रुखको हाँगाबाट टिपिसकेका पात फेरि कसरी जोड्न सकिन्छ ?”

बुद्धले भने, “तिमी जुन वस्तुलाई जोड्न सक्तैनौ, त्यसलाई तोड्ने अधिकार कसले दियो ? एक मानिसको शिर जोड्न सक्दैनौ भने काट्नुमा के बहादुरी छ ? के तिमी यसैलाई आफ्नो बहादुरी सम्झन्छौ ?”

अङ्गुलीमाल अवाक भयो । ऊ बुद्धका कुरा सुन्दै गयो । भगवान् बुद्ध भन्दै गए, “जसलाई तिमी जीवित गर्न सक्दैनौ । तिनीहरूको हत्या गरेर तिमीले कति ठूलो अधर्म गर्‍यौ ! तिमीले कहिल्यै सोचेका छौ कति आमाको काख शून्य गरिदियौ ! दूधे बालकहरूलाई टुहुरो बनाइदियौ ! छोरी–बुहारीहरूको सिउँदो मेटाइदियौ ! असहाय र  वृद्धहरूको सहारा छिनिदियौ !”


बुद्धले अगाडि भने, “तिमीमा सद्गुण अझै बाँकी छ । तिमीभित्र दया र प्रेमभाव अझै छ ।”

अङ्गुलीमालले जवाफ दियो, “मेरो डरले तिमी यसो भन्दैछौ । नत्र सबै जना मलाई घृणा गर्छन् । मलाई मार्न चाहन्छन् ।”

अनि बुद्धले भने, “यसैले तिमी पनि मान्छे मारेर हिँड्छौ ?”  

अङ्गुलीमालले भन्यो, “मलाई मान्छेले अन्याय गरे । अनि मैले पनि बदलामा हिंसा गरेँ । यसो गर्दा मेरो मनको आगो शान्त हुन्छ ।” बुद्धले भने, “आगोले आगो शान्त हुँदैन । पानीले नै आगो शान्त हुन्छ । शत्रुभावले शत्रुता मेटिँदैन । प्रेमले नै मेटिन्छ । सधैँ याद राख मनुष्यलाई शस्त्रले होइन प्रेमले मात्र जित्न सकिन्छ ।” 

बल्ल अङ्गुलीमाललाई आफूले अपराध गरेको महसुस भयो । एक अदृश्य शक्तिले उसको हृदयलाई छियाछिया पारिदियो । उसलाई अब आत्मग्लानि हुन थाल्यो । उसको हातबाट तरबार भुईंमा झर्‍यो । 

अङ्गुलीमालले पश्चात्ताप गर्दै आफ्नो घाँटीमा लगाइरहेको औँलाको माला फुकालेर टाढा फ्याँक्यो । घोप्टो परेर भक्कानिएर बुद्धको चरणमा झुक्यो र भन्यो, “हे भन्ते ! मलाई माफ गरिदिनुहोस् । मैले बाटो बिराएको रहेछु । मबाट ठूलो अपराध हुन पुग्यो । मेरा आँखा खुले । तपाईं वास्तवमा महान् तपस्वी हुनुहुँदोरहेछ । तपाईं मलाई आफ्नो शरणमा लिनुहोस् ।”

भगवान् बुद्धले उसलाई उठाए र आफ्नो शरणमा लिए । बुद्धले अङ्गुलीमाललाई भिक्षु बनाए, आत्मज्ञान प्रदान गरेर सच्चा साधु बनाए । उसको दानवी प्रवृत्तिलाई बुद्धले दैवी प्रवृत्तिमा रूपान्तरण गरिदिए । 

 –युवामञ्च   

Author

बोधनाथ पौडेल