रामकृष्ण बोहरा
बागलुङ, वैशाख ८ गते । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा आगलागीबाट घाइते बिरामीको उपचारका लागि जलन एकाइ स्थापना गरिएको छ । आवश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधारको पर्याप्ततापछि अस्पतालमा जलन एकाइ स्थापना गरिएको हो ।
जलन उपचारका लागि अस्पतालमा तीन जना सर्जन रहेको र नर्सिङ विभागका तीन जना नर्सले जलन उपचारसम्बन्धी तालिम समेत लिइसकेकाले धौलागिरि अञ्चलका बिरामीलाई जलनसम्बन्धी उपचार सेवा दिने उद्देश्यले एकाइ स्थापना गरिएको धौलागिरि प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. किरण तिवारीले जानकारी दिनुभयो ।
अस्पतालमा कार्यरत सर्जन डा. शङ्कर लामिछाने, डा. आशिष सापकोटा, डा. रोजिना सुवेदी तथा जलन उपचारसम्बन्धी तालिम प्राप्त नर्सहरूले बिरामीलाई सेवा दिनुहुने छ । जलन एकाइमा एसि जडित चार बेडको ड्रेसिङ कक्ष र आवश्यक उपकरणहरूको समेत व्यवस्थापन गरिएको छ । जलन एकाइबाट १० देखि १५ प्रतिशतसम्मका जलनका बिरामीहरूको उपचार गरिने डा. तिवारी जानकारी दिनुभयो ।
‘‘एकाइबाट ठुलो उपचार गर्ने भन्ने होइन, जलनको पनि प्रतिशत हुन्छ, ६० प्रतिशतभन्दा बढी भए उपचारै नगरे हुन्छ भनिन्छ, हामीले १० देखि १५ प्रतिशतसम्मका जलनका बिरामी हेर्छाै, त्यसका लागि तत्काल पोखरा पठाउनु परेन’’ डा. तिवारीले भन्नुभयो । १५ प्रतिशतभन्दा बढी जलनका बिरामीलाई ठुला अस्पतालमा रिफर गरिने तिवारीको भनाइ छ ।
जलनका बिरामीलाई उपचारका साथै मानसिक परामर्शको समेत आवश्यकता रहेकाले अस्पतालमा ९ महिनादेखि बन्द रहेको मानसिक रोग सेवा समेत सूचारु भएको छ । ग्रामीण प्रसूति भिडियो एक्स–रे तालिम साइटको सुरुवात गरिएको अस्पतालमा प्याथोलोजी सेवा विस्तार भएपछि रोगको पहिचान र निदानमा बिरामीले राहत महसुस गरेका छन् ।
डा. तिवारीका अनुसार आगोको जलन, ग्यास लिक भएर हुने जलन, एसिडको जलन र विद्युतीय जलन आम रूपमा हुने देखिने जलन हुन् । गर्मीको तुलनामा जाडो महिनामा अत्यधिक जलनका घटना बढ्छन् । अन्य मौसममा खाना पकाउँदा जलनका घटना हुन्छन् भने जाडो महिनामा आगो ताप्दा यस्ता घटनाहरू बढी हुने गर्छन् ।
‘‘वर्षैभरि जलनका बिरामी आउँछन् भनेर समर्पण टोली पनि चाहिँदैन, जुनबेला बिरामी आउनुहुन्छ, त्यो बेला एकाइलाई सक्रिय बनाउन सकिन्छ’’ डा. तिवारीले भन्नुभयो, ‘‘जाडो मौसमका तीन महिना जलन एकाइलाई सक्रिय बनाउँदा आगोजन्य दुर्घटनाका सामान्य घाइतेहरू उपचारका लागि पोखरा र काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य हुने छ ।’’
धौलागिरि अस्पतालले काठमाडौँस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालसँग जलनका बिरामी उपचार गर्ने विषयमा पनि सहकार्यको गृहकार्य गरिरहेको छ । हाम्रो जनशक्तिलाई तालिमदेखि प्राविधिक सहयोग गर्न सुष्मा कोइराला अस्पताल तयार रहेको डा. तिवारीले बताउनुभयो । जलनदेखि प्लास्टिक सर्जरीको विषयमा चिकित्सकको टोलीदेखि प्राविधिक सहयोग गर्नेदेखि लिएर बागलुङबाट रिफर भएका बिरामीलाई उपचारमा विशेष छुट दिने विषयमा समेत कुरा भइरहेको डा. तिवारीले जानकारी दिनुभयो ।