तिलाचन पाण्डे
तम्घास, वैशाख ८ गते । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका गोरु पाल्ने कृषकलाई अनुदान प्रदान गर्ने भएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार गोरु पाल्ने कृषकलाई अनुदान दिन लागिएको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
अनुदान पाउनका लागि विगत दुई वर्षदेखि गोरु पालेको हुनुपर्ने छ भने अनुदान लिएपछि गोरु बिक्री गरेमा अनुदान फिर्ता गर्नुपर्ने शर्त राखिएको उहाँले बताउनुभयो ।
गाउँपालिका भित्रको बाँझो अर्थात भिरालो जग्गामा गोरुले जोतेर खेतीपाती गर्ने र प्राङगारिक मलसमेत उत्पादन गर्ने उद्देश्यले अनुदान दिन लागिएको पाण्डेले बताउनुभयो । उक्त कार्यक्रमका लागि पाँच लाख रुपियाँ बजेटको व्यवस्था गरिएकाले प्राप्त निवेदनको आधारमा अनुदान प्रदान गर्ने उहाँले बताउनुभयो । गोरु पालक कृषकका लागि १५ दिन भित्र निवेदन दिन पालिकाले एक सूचनासमेत प्रकाशन गरेको छ ।
यस्तै चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई वार्षिक तीन हजार प्रोत्साहन भत्ता प्रदान गरेको छ । ग्रामीण स्तरमा गोरु पाल्न छाडिएकाले गोरुपालक कृषकलाई प्रोत्साहन गर्नका लागि यस्तो नीति लिइएको सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । पछिल्लो समयमा कृषकहरूले गोरु पाल्न छोडेकाले उनीहरूलाई प्रोत्साहन गर्नका लागि पालिकाले यस्तो नीति अपनाएको छ ।
पालिकाभित्रका आठ वटै वडामा कुल दुई सय ५८ हल गोरु पालिएको देखिएको उहाँहरूलाई वडाबाटै प्रोत्साहन भत्ता उपलब्ध गराइएकोे ज्ञवालीले बताउनुभयो ।
प्रोत्साहन भत्ताले गोरु पाल्ने कृषकलाई थप ऊर्जा मिल्ने र पछिल्लो समयमा रासायनिक मलको बढ्दो प्रयोगलाई कम गर्न सकिने गाउँपालिकाले विश्वास लिएको छ । यसका साथै गोरु पाल्ने कृषकको सङख्या बढ्दै गएमा बाँझो जग्गा पनि नरहने र खेती योग्य जमिनमा खेती हुने पालिकाले जनाएको छ ।
धुर्कोटमा हल गोरु पाल्ने ४७ कृषकलाई सम्मान
धुर्कोट गाउँपालिका वडा नम्बर ४ ले हल गोरु पाल्ने ४७ कृषकलाई पनि सम्मान गरेको छ । वडाभित्र हल गोरु पाल्ने ४७ कृषकहरूलाई वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत एक लाखको बजेटबाट कृषकलाई सम्मान गरिएको वीरबहादुर जोगी कुँवरले जानकारी दिनुभयो ।
पछिल्लो समयमा गोरु पाल्ने कृषकहरू लोप हुँदै गएकाले उहाँहरूलाई गोरु पाल्न प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको उहाँको भनाइ छ । पहिलेदेखीनै गोरुले खेतबारी जोत्दै आएकाले यसलाई जोगाइ राख्नु पनि आफूहरूको दायित्व भएको उहाँले बताउनुभयो । यसका साथै खेतबारीमा रासायनीक मलको बढी प्रयोग हुने भएकाले त्यसको न्युनीकरणका लागि पनि यसले सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँहरूलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको कुँवरले बताउनुभयो ।