• ८ वैशाख २०८२, सोमबार

बाटो बनाउने पैसा निकुञ्जको छेकबारमा

blog

यज्ञप्रसाद सापकोटा

बर्दिया, वैशाख ८ गते । बर्दियाको ठाकुर बाबा नगरपालिकाले नगर क्षेत्रका सडक स्तरोन्नति गर्ने रकम निकुञ्जको छेकबारमा लगाएको छ । सडक भन्दा बढी जङ्गली जनावरबाट नगरवासीलाई जोगाउन महत्त्वपूर्ण ठानेर नगरपालिकाले निकुञ्जको छेउमा आर सी सी पर्खाल बनाएको हो । 

ठाकुर बाबा नगरपालिकाको ३२  किलोमिटर सिमाना निकुञ्जको सिमाना पर्दछ । जसमध्ये हाल सम्म निकुञ्जले ११ किलोमिटर सिमानामा आर सी सी पर्खाल बनाई सकेको छ । भने दुई किलोमिटर बबई सिँचाइ आयोजनासँग समन्वय गरी जङ्गली जनावर पार गर्न नसक्ने गरी नहर निर्माण गरिएको छ । नगरपालिकाको सिमानामा पर्ने र जङ्गली जनावरबाट जोखिममा रहेको १९ किलोमिटर निकुञ्जको सिमा क्षेत्रमा आर सी सी पर्खाल बनाउन बाँकी रहेको छ । ठाकुर बाबा नगरपालिकाका अनुसार एक किलोमिटर आर सी सी छेकबार बनाउनका लागि करिब दुई करोड रुपियाँ रकम लाग्दछ । 

जहाँ अत्यन्त जोखिम छ ती स्थानलाई हेरेर आर सी सी छेकबार बनाइएको छ । विभिन्न वडामा गरेर तत्कालका लागि करिब ६ किलोमिटर तार जाली लगाएको ठाकुर बाबा नगरपालिकाले जनाएको छ   । बजेटको कमीले गर्दा सबै स्थानमा आर सी सी वाल बनाउन नसकिएको ठाकुर बाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताउनु भयो । 

गत आर्थिक वर्षमा करिब ४ करोड रुपियाँको लागतमा नगरपालिकाले आर सी सी पर्खाल निर्माण गरेको थियो । त्यसै गरी यस आर्थिक वर्षमा ७ करोड रुपैयाँ बराबरको पर्खाल निर्माण गर्ने योजना रहेको नगरप्रमुख लम्सालले बताउनु भयो । उहाँले भन्नु भयो –‘नगरपालिका, सङ्घ र  सरकारको लागत साझेदारीमा आर सी सी पर्खाल निर्माणका लागि प्रस्ताव गरिएको छ । सङ्घबाट रकम उपलब्ध भएमा पर्खाल निर्माणका लागि सहज हुने थियो । उहाँले भन्नु भयो –अझै पनि १९ किलोमिटर पर्खाल निर्माण गर्न पाए ठाकुर बाबा नगरवासीलाई केही हदसम्म भए पनि जङ्गली जनावरको आतङ्कबाट जोखाउन सकिन्थ्यो ।’

पर्खाल निर्माण भएपछि बाघ, हात्ती, गैँडा, चित्तल, बँदेल लगायतका वन्यजन्तु खेतबारी र बस्तीमा पस्न कम भएको स्थानीय मुकुन्द क्षेत्रीले बताउनुभयो । पहिले सिधै खेतबारीमा र गाउँमा वन्यजन्तु आउँथे भने अहिले धेरै कम भएको छ । पर्खाल निर्माण नभएको स्थानमा भने मानव वन्यजन्तु द्वन्द्व कायमै रहेको छ । 

निकुञ्जको आसपासको क्षेत्रमा वन्यजन्तुबाट सुरक्षित बनाउनका लागि आर सी सी पर्खाल निर्माण गर्न तर्फ लागेको ठाकुर बाबा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी भट्टराईले बताउनुभयो । उहाँले  जङ्गली जनावरबाट पीडित स्थानीय तहहरूमा सङ्घ सरकारले छुट्टै किसिमको बजेट विनियोजन गर्नुपर्ने बताउनु भयो । ‘हाम्रो अधिकांश बजेट त पर्खाल निर्माण र वन्यजन्तु पीडितलाई राहत वितरण गर्दैमा सकिन्छ ।’ उहाँले भन्नुभयो –‘अरू विकास कहिले गर्ने ।’

ठाकुर बाबा नगरवासीको विकासको प्राथमिकतामा सडक पूर्वाधार भन्दा पनि निकुञ्ज छेउमा आर सी सी पर्खाल निर्माण पर्ने गरेको ठाकुर बाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण ढकालले बताउनुभयो । उहाँले  नगरपालिकाले वन्यजन्तुबाट क्षति भएमा तत्कालका लागि वडाबाट नै दिन मिल्ने गरी राहतको व्यवस्था गरेको बताउनु भयो । वन्यजन्तुको आक्रमणबाट मानिस मृत्यु भएमा नगरपालिकाले तत्काल ५० हजार रुपियाँ, पशुधन र खाद्यान्नबाली क्षति भएमा क्षतिको अवस्था हेरेर कार्यविधि अनुसार दिइने गरेको उहाँले बताउनुभयो ।