• ८ वैशाख २०८२, सोमबार

क्षयरोगी खोज्न एआईको प्रयोग

blog

एआईको प्रयोग गरेर बैतडी कारागारमा क्षयरोगी पत्ता लगाउँदै स्वास्थ्यकर्मी । तस्बिर : विपिन लेखक

बैतडी समाचारदाता    

बैतडी, वैशाख ८ गते । क्षयरोगी खोज्न बैतडीमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग भएको छ । एआईले सुर्नया गाउँपालिकामा चार जना, पुर्चौडी नगरपालिकामा तीन जना र बैतडी कारागारका दुई जना बन्दी गरेर नौ जना क्षयरोगी पत्ता लगाएको छ । थपिएका नयाँ बिरामीसँगै बैतडीमा १०७ जना क्षयरोगी उपचारको दायरामा आएका छन् ।   

क्षयरोगी पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बोकेर पुर्चौडी नगरपालिका र सुर्नया गाउँपालिकामा खटिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भनेको डिजिटल कम्प्युटर रोबोर्ट हो । यसले मानिसको एक्सरे गरेर सम्भावित क्षयरोग पत्ता लगाउँछ । एआईले खकारबाट नभई एक्सरेबाटै सम्भावित बिरामीको पहिचान गर्छ । सुदूरपश्चिम प्रदेशमा यस्तो एआई उपकरण प्रदेश स्वास्थ्य निर्देशनालयमा मात्रै छ ।”

उहाँले एआईले सम्भावित क्षयरोगी पत्ता लगाइसकेपछि दोस्रो चरणमा बिरामीको खकार परीक्षण गरेर बिरामीको निःशुल्क उपचार हुने बताउनुभयो । क्षयरोगीको खोजपड्तालका लागि एआईको प्रयोग गर्न दक्ष जनशक्तिसहित स्वास्थ्यकर्मीको टोली बैतडी र बझाङका गाउँमा घुमिरहेको प्रदेश स्वास्थ्य निर्देशनायका क्षय तथा कुष्ठरोग अधिकृत मनोज ओझाले बताउनुभयो । उहाँले यही चैत २४ गते बैतडीको परीक्षण सकेर स्वास्थ्यकर्मीको टोली बझाङ पुगेको बताउनुभयो । बझाङमा पनि क्षयरोगका बिरामी भएकाले परीक्षणका लागि बझाङको थलारा पुगेको ओझाले बताउनुभयो । बझाङमा १०५ जना क्षयरोगी नियमित उपचारमा रहेका छन् । 

क्षयरोगको औषधी नियमित सेवन गरे निको हुने बताइएको छ । यद्यपि स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार गत वर्ष क्षयरोगका कारण ११ जना र चालु आर्थिक वर्षमा दुई जना गरेर १३ जनाको मृत्यु भएको छ । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो । क्षयरोग पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली गाउँमा परिचालन भए पनि मौसमी रोजगारीका लागि भारत गएका कारण परीक्षणको दायरामा आउन नसकेको उहाँले जनाउनुभयो । एक जना क्षयरोगीले घरपरिवार र समुदायलाई नै सङ्क्रमित बनाउन सक्ने भएकाले रोगी पत्ता लगाउन ठुलो उपलब्धि मानिने उहाँले बताउनुभयो ।