• ७ वैशाख २०८२, आइतबार

विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

blog

खोटाङ,  वैशाख ७ गते । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको सर्वेक्षणअनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रसारण लाइन तथा १० प्रतिशतमा माइक्रो हाइड्रो र सोलार ग्रिडबाट विद्युत् बलेको पाइएको हो ।

केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको २५ वर्ष पूरा हुँदा पनि जिल्लामा अझै दुई हजारभन्दा बढी घरपरिवार उपभोक्तामा विद्युत् पुगेको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिक्तेल बजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो । 

विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार जिल्लामा माइक्रो हाइड्रोबाट तीन हजार ४३० र सोलार ग्रिडबाट २८३ घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरिरहेका छन् । विद्युतीकरण हुन बाँकी जिल्लाका दुई हजार बढी घरपरिवार उपभोक्तामध्ये कतिपयले अझै पनि मट्टितेलको धिप्री तथा सोलार टुकीको भर पर्नुपर्ने अवस्था रहेको जनाइएको छ । 

विद्युत् बल्न बाँकी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्याउन रु पाँच करोड बजेट आवश्यक पर्ने विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “हामीले गरेको सर्वेक्षणअनुसार जिल्लाका दुई हजार उपभोक्ताको घरमा विद्युतीकरण हुन बाँकी छ । यसका लागि हामीले केन्द्रमा बजेटसमेत माग गरेका छौँ”, उहाँले भन्नुभयो, “केन्द्रबाट बजेट स्वीकृत भएर आएको खण्डमा आगामी वर्ष नै जिल्लामा पूर्ण विद्युतीकरणको काम सम्पन्न हुन्छ ।  त्यसका लागि सम्बन्धित ठाउँमा पहल गरिरहेका छौँ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित सबस्टेशनबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका उपभोक्तालाई विद्युत् वितरण गरिएको छ । तीन जिल्लाका उपभोक्ताका लागि वितरण गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत्मा पटकपटक समस्या देखिने गरेको छभने उक्त समस्या दीर्घकालीन रूपमा समाधान गर्न टावर अनिवार्य जडान गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।  

जिल्लामा उत्पादन गरिएका तीनवटा जलविद्युत् आयोजनाबाट १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाइड्रोपावर गरी १०.६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत् आयोजना ६।६ मेगावाट, केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा नं ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । जिल्लाका फरक–फरक तीनवटा खोलाबाट उत्पादन गरिएका जलविद्युत् बुइपास्थित ३३ केभी प्रसारण लाइनमा जोडिएका छन् ।

विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार जिल्लामा उत्पादित विद्युतमध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन । जिल्लामा विस्तार गरिएका केन्द्रीय प्रसारण लाइनको विद्युत् पटकपटक अवरुद्ध हुँदा उपभोक्ता हैरानीमा पर्ने गरेका छन् । यतिसम्म कि अलि बढी पानी पर्दा, अलि ठूलो हावा चल्दा र बाढीपहिरो आउनासाथ विद्युत् अवरुद्ध हुने गरेको छ । एकैदिन दर्जनौँपटक विद्युत् आउने र जाने समस्याले तीन सेवाग्राही मारमा पर्दै आएका छन् । 

केन्द्रीय प्रसारण लाइनको विद्युत् झ्याप्प आउनेजाने समस्याका कारण विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत् अवरुद्ध हुने गरेको प्राधिकरणले जनाउँदै आएको छ । रासस