हुम्ला समाचारदाता
हुम्ला, वैशाख ७ गते । धार्मिक स्थलमा रूपमा परिचित जिल्लाकै पुरानो खार्पुको शिव मन्दिरमा दर्शनार्थी र पूजाआजा गर्नेको घुइँचो लाग्न थालेको छ । कर्णाली र दोजाम कर्णालीको दोभानमा रहेको खार्पुनाथ शिव मन्दिर सडक सञ्जालसँग जोडिनु र धार्मिक संरचनाको निर्माणले दर्शनार्थी बढेका हुन् ।
पहिलो माघेसङ्क्रान्ति र त्यस्तै अक्कलझुक्कल शिव मन्दिरको दर्शन गर्ने भक्तजन हाल भने दैनिक दिन वृद्धि भइरहेको मन्दिरका पुजारी शिव शर्मा उपाध्यायले बताउनुभयो । पहिले हिँडेर जानुपर्ने र हाल खार्पुनाथ शिवालयसम्म सडक सञ्जाल जोडिएका कारण पनि भक्तजनको सङ्ख्या बढ्दै गएको बताउनुभयो । अर्को कुरा शिवालय क्षेत्रमा भौतिक संरचना पनि निर्माण गरिएका कारणले मन्दिरमा पूजाआजा गर्न आउने सङ्ख्यामा वृद्धि भएको हो । खार्पुको शिव मन्दिरको पुनर्निर्माण, मन्दिर जाने बाटो निर्माण, साढे तीन क्विन्टलको घन्ट स्थापना, सोह्र फिट अग्लो शिवको मन्दिर निर्माणलगायतका कार्यले मन्दिर क्षेत्र रमणीय पनि बनेका कारण भक्तजनको घुइँचो बढ्दै गएको हो । मन्दिरमा भक्तजन आउन थालेपछि खार्पुनाथ गाउँपालिकाले पुजारीको पनि व्यवस्था गरेको छ ।