राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख ६ गते । पत्रकारिताको माध्यमबाट समाजलाई महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै गोरखापत्रकर्मीसहित तीन जना पत्रकारलाई सम्मान गरिएको छ ।
गोरखापत्रका स्याङ्जा समाचारदाता अर्जुन काफ्ले, पुतलीबजार समाचारदाता हरिप्रसाद सुवेदी ‘सुशिल’ र पत्रकार महासङ्घ गण्डकी प्रदेशका सदस्या तथा स्याङ्जाका पूर्व अध्यक्ष श्रीकृष्ण सिग्देललाई सम्मानित गरिएको हो ।
अकला आवाज राष्ट्रिय साप्ताहिकको आयोजनामा भएको “स्याङ्जाको समग्र विकास, समृद्धि र शुसासनमा मिडियाको भूमिका’’ विषयक अन्तर्क्रियाका क्रममा पत्रकारहरूलाई नगद पाँच हजार पाँच सय रुपियाँ, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।
पत्रकारलाई सम्मानित गर्नुहुँदै गण्डकी प्रदेश सभासदस्य तथा अर्थ विकास समितिका सभापति भोजराज अर्यालले नेपालको परिवर्तनमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद मोहनप्रसाद रेग्मी, वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांण, उपप्रमुख कविता तिवारी, विभिन्न राजनीतिक दलका नेता, व्यवसायी, पत्रकार लगायतले स्याङ्जाको विकासका लागि खेल्नु पर्ने भूमिकामा बारेमा बोलेका थिए ।
समाज परिवर्तनका लागि जिल्लामा रहेर पत्रकारले खेलेको भूमिका उच्च रहेको भन्दै पहिलो चरणमा तीन जना सक्रिय पत्रकारलाई सम्मान गरिएको अकला आवाज राष्ट्रिय साप्ताहिकका अध्यक्ष तथा प्रकाशक प्रकाश डुम्रेले जानकारी दिनुभयो । पत्रकार र पत्रकारितालाई हेर्ने समाजको दृष्टिकोण परिवर्तनका लागि अभियान सुरु गरिएको उहाँको भनाइ छ ।
सो अवसरमा सञ्चारिका समूह स्याङ्जामा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई समेत सम्मान गरिएको थियो । यस्तै २०८२ को क्यालेन्डर समेत सामूहिक रूपमा विमोचन गरिएको थियो ।