तुवाँलोले ढाकेको बस्ती जस्तै छपक्क छोपिएको मौसम । छ/छ दिनसम्म एउटै उद्देश्यका लागि दिनुपर्ने समय, लामो यात्रा । त्यसमा पनि राजमार्गको भनेपछि सोच्नुपर्ने अवस्थाका बाटो तय गर्नुपर्ने चुनौती अनि आन्दोलन । कुन बेला कुन ठाउँमा रोकिनुपर्ने हो ? त्रासका यी सबै आयामलाई चटक्क बिर्सिएर तयार भएका थियौँ हामी ।
यात्रा आफैँमा रोमाञ्चक हुन्छ नै । त्यसमा पनि कला साहित्यका लागि १८ वर्षदेखि सक्रिय नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको निमन्त्रणामा बबरमहल पुगिएको थियो– बुधबार सखारै । एकपछि अर्को गर्दै साहित्यका विविध विधामा योगदान दिएका स्रष्टाको जमघटपछि थालिएको थियो– हाम्रो यात्रा । प्रतिष्ठानका अध्यक्ष एवं कवि मेमिलाको नेतृत्वमा । साहित्य कलाको मार्गमा हिँंडेकाहरू लोकमार्ग पछ्याउँदै अघि बढ्दै साँझ बागलुङमा विश्राम लिन पुगेका थियौँ । बाटोभरि साहित्य र कलाका कुरा, अलि अलि राजनीतिका कुरा, धेरै बेथितिका कुरा गर्दै जाँदा यात्राले ११ घण्टाको समय लिएर बागलुङ पुगेको पत्तो नै नपाए जस्तो भयो ।
मुसी भण्डार्नीको कथा गाँसिएकोे मुसीकोटको इतिहास, कैयौँ सन्दर्भ जोडिएर बनेको विगत अनि प्राकृतिक रूपले सुन्दर लाग्ने रुकुमको यात्रा महोत्सव जस्तो बन्न पुगेको थियो । अतिथिलाई स्वागत गर्न आतुर रुकुमका बाटा, बजारमा राखिएका ब्यानर र टाँसिएका सहभागीको तस्बिरसहित स्वागतका शब्दहरूबाट लख काटिसकिएको थियो– साहित्यका लागि रुकुम आफ्नो संस्कृतिका माध्यमबाट त्यत्तिकै तम्तयार छ । पैसेरी (लहरे), सिँगारु र सोरठी नाचसहित विविध नाच र ठाडीभाकाको प्रस्तुतिले पाहुनालाई मन्त्रमुग्ध पार्ने रुकुम साहित्यमा पनि कहाँ कम रहेछ र ? जिएम दिपु दीपेन्द्र (पहिलो), कविता ओली (दोस्रो), हर्कसिंह केसी (तेस्रो) र अर्जुनकुमार ओली एवं खिमबहादुर खड्का (सान्त्वना) को रचना सुनेपछि अनायास भन्न पुगिएछ– साहित्यमा कहाँ कम रहेछ र रुकुम ? पुरस्कृत यी पाँच कविबाहेक अरू स्रष्टा पनि कम थिएनन् ।
कला साहित्य यात्रापछि रुकुमको चिनारी थपिएको छ । यही भूमिमा सहभागी बन्न पुगेका थियौँ, नेपाली कलासाहित्य यात्राको सिर्जना उत्सवमा । १८ औँ शृङ्खलामा भेला भएका १८ स्रष्टाको टोली काठमाडौँबाट चैत २० गते यात्रा थाली रुकुम पुग्दासम्म २० सदस्यीय बन्न पुगेको थियो ।
रुकुम नटेक्दै राजमार्गमा देखिएका ढकमक्क फुलेका लालीगुराँस, कोइरालाको जङ्गल अनि कुनै कलाकारले बनाएको कलाकृतिभन्दा पनि उत्कृष्ट लाग्ने प्राकृतिक दृश्यले रोमाञ्चित बनिसकेका थियौँ । आँखा खोली बाहिर हेर्दा पनि डर लाग्ने भिरपाखाको यात्रा, आँखा चिम्लेर अघि बढौँ भने आँखा र मनलाई नै शान्त पार्ने प्राकृतिक दृश्य हेर्न नमिल्ने । भिरपाखामा एक्लै जस्तै देखिने घर र तिनको दैनिकी पनि त्यत्तिकै हेर्नलायक थिए । यही मान्छेलाई प्रेरित गर्न र मन्त्रमुग्ध पार्न जानेको प्रकृतिको यो अनुपम दृश्यले पुलकित बन्दै रुकुमको आँगन टेक्न नपाउँदै, नजिकबाट देख्न नपाउँदै, सांस्कृतिक रूपले पनि उत्तिकै मन्त्रमुग्ध बनायो हामीलाई । विविध नाच र पन्चैबाजाको स्वागतको क्रम रोकिएको थिएन । सांस्कृतिक प्रस्तुतिसँगै अतिथि र स्थानीयका स्वतः तालमा ताल मिलेका पाइला र हाउभाउ अर्को रमाइलो दृश्य थियो । औपचारिक कार्यव्रmममा पनि यही व्रmम यथावत् रह्यो ।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठान आयोजक र राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमपश्चिमको सहआयोजनामा चैत २२ गते आयोजित साहित्यिक कार्यव्रmममा सहिद प्रतिष्ठानको सभाकक्षमा पाइला टेक्ने ठाउँ थिएन ।
कवि एवं गीतकार दिनेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतकुमार शर्माको स्वागत, त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसी, जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतमको अतिथि मन्तव्यपछि प्रतिष्ठानका प्रमुख संरक्षक डा. विमल कोइरालाले यात्राबारे केही जानकारी दिनुभयो । त्यसपछि कविता काव्यिक सत्रको थालनी गरियो । उषा शेरचन, लक्ष्मण गाम्नागे, मणि लोहनी, सरस्वती प्रतीक्षा, कपिल अञ्जान, रोशन परियार, कविता राई, तारा सुनुवार, दीपक समीर र आस्था केसीका कविता सुनिए । साहित्यिक उत्सवसँगै जोडिएको स्थानीय ठाडी भाका र कविता प्रतियोगिताका पुरस्कृतलाई पुरस्कार अर्पण गरिएको थियो । कविता प्रतियोगिता चयन समितिका संयोजक निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले पुरस्कृतहरूको चयन प्रव्रिmयाबारे जानकारी गराउनुभएको थियो ।
भोलिपल्टको सिर्जना उत्सवमा योगेश्वर वाङ्मय पुरस्कारबाट डा. अमर शाह र ग्रेगोरी कलासंस्कृति पुरस्कारबाट मनलाल ओलीलाई सम्मान गरिएको थियो । डा. अमर शाहको पछिल्लो कृति ‘गाउँ छोडेको मान्छे’ (कवितासङ्ग्रह) विमोचन, कलाकार एवं फोटोग्राफर सुन्दर बस्नेतको ‘दृश्यमा देशदर्शन’ दृश्यचित्रले कार्यव्रmमलाई थप आकर्षण दिएको थियो ।
रुकुमको भूमिमा पहिलो पटक यति बृहत् कार्यक्रम भइरहँदा देखिएको उत्साह र स्थानीयको सव्रिmयता अझ उल्लेख्य रह्यो । नेपालको पश्चिम भूगोल नाचगान र संस्कृतिमा अब्बल मानिन्छ र यसमा रमाउन सबै कुरा बिर्सन्छन् पनि यहाँका बासिन्दा । दुई दिनसम्म चलेको सिर्जना उत्सवमा सांस्कृतिक प्रस्तुतिमा देखिएको तुलनामा साहित्यिक सन्दर्भमा कमै देखिए । यस पटकको साहित्यिक प्रस्तुतिले पक्कै पनि आउँदा दिनमा साहित्यप्रति पनि उत्तिकै चासो बढ्ने छ भन्ने विश्वास स्थानीय कविको सशक्त प्रस्तुतिले देखाएको छ । विभिन्न उमेर समूहका सहभागिता देख्दा लाग्थ्यो– रुकुम साहित्य र संस्कृतिमा, अतिथिको स्वागतमा उर्लिएको थियो ।
भूगोलका दुरीले राजधानी काठमाडौँबाट टाढा भए पनि, साहित्य क्षेत्रमा उत्साहजनक पाइला चाल्दै अघि बढेको रुकुमको माटोमा जिल्ला समन्वय अधिकारी एवं साहित्यकार पुण्यप्रसाद भट्टराई, राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, रुकुमेली वाङ्मय अधिष्ठानका अध्यक्ष भूपेन्दा मल्ल, मुकुन्दप्रसाद शर्मा, कार्यव्रmम संयोजक पूर्ण ओलीको सव्रिmयता त्यत्तिकै उल्लेख्य रहे ।
अतिथि स्रष्टाहरूलाई रुकुमको ऐतिहासिक र रमणीय स्थलको अवलोकनसमेत गराइएको चारदिने रुकुम बसाइ साहित्य, संस्कृति, कलाका दृष्टिले मात्र होइन; स्थलगत भ्रमणका दृष्टिले पनि त्यत्तिकै उल्लेख्य रह्यो । कला साहित्य यात्रापछि रुकुमको थप चिनारी थपिएको छ । साहित्यमा आशालाग्दा प्रतिभा भएको यही भूमिमा पहिलो पटक यति बृहत् साहित्यिक कार्यव्रmम सम्पन्न भएपछि रुकुम अब साहित्यिक हिसाबले पनि अघि बढेको प्रस्ट हुन पुग्यो ।
मान्छेलाई भौगोलिक दुरीले टाढा पारे पनि मनको निकटताले नजिक बनाउँदो रहेछ । साहित्य र संस्कृति, कला र सिर्जनाले एकअर्कासँग जोड्दो रहेछ । यसपालिको काठमाडौँ–पोखरा, बागलुङ, रुकुमसम्मको कलासाहित्य यात्राले यही सन्देश दिए जस्तो लाग्छ । साहित्य र संस्कृतिका लागि, अतिथिहरूको स्वागतका लागि रुकुमले देखाएको उत्साह प्रशंसनीय छ । निरन्तर डेढ दशकदेखि देशभित्र र बाहिर यस्ता कार्यक्रम गरेर यसलाई निरन्तरता दिने नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको यो सोच र सक्रियता त्यत्तिकै प्रशंसनीय छ ।