• ६ वैशाख २०८२, शनिबार

क्यान्डीमा बुद्धको दाँत खोज्दै

blog

श्रीलङ्काका मुख्य सहरहरू हुन्– कोलम्बो, क्यान्डी, नेगोम्बो, गाल, अनुराधापुरा, जाफ्ना र वहिकोला । यिनमा पनि क्यान्डी सन् १८१८ सम्म श्रीलङ्काको राजधानी नै थियो । श्रीलङ्काको वर्तमान प्रादेशिक विभाजनमा पनि मध्य प्रदेशको केन्द्र हो– क्यान्डी ।

क्यान्डी धार्मिक तीर्थस्थल पनि हो । यहीँ छन्– बौद्ध धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल टेम्पल आफ दी सेव्रmेट टुथ रेलिक (बुद्धको दाँत भएको मन्दिर) र महाबोधी विहार । 

हामी श्रीलङ्काको पर्यटकीय भ्रमणका क्रममा ८ फागुन २०८१ अर्थात् २० फेब्रुअरी, २०२५ मा एलाबाट लगभग दिनको १ बजे क्यान्डी आइपुगेका हौँ । धर्मका आधारमा श्रीलङ्काको जनसङ्ख्या वितरणलाई हेर्दा श्रीलङ्कामा बौद्ध ६९ प्रतिशत, हिन्दु १५ प्रतिशत, व्रिmस्चियन आठ प्रतिशत, मुस्लिम सात प्रतिशत र अन्य एक प्रतिशत देखिन्छन् । यसरी श्रीलङ्काका बहुसङ्ख्यक जनताको आस्थाकेन्द्र हो– क्यान्डीमा रहेका बौद्ध मन्दिरहरू । विश्वका बौद्धमार्गी र पर्यटकसमेत क्यान्डीमा रहेका बौद्ध तीर्थस्थलप्रति आकर्षित हुन्छन् ।

भनिन्छ, “बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धले परिनिर्वाण प्राप्त गरेपछि बुद्धको एउटा दाँत भारतको कालिङ्गामा सुरक्षित राखिएको थियो । त्यो दाँत कालिङ्गा राज्यका राजा गुहासिभले राजकुमारी हेमामाली र उनका श्रीमान्का साथमा श्रीलङ्का पठाएका हुन् । पठाउने र श्रीलङ्का लिएर आउने सवालमा उच्च सतर्कता अपनाइएको थियो । हेमामालीले त्यो दाँतका बारेमा कसैले शङ्का नगरून् भनेर आफ्नो कपालको जुरोभित्र लुकाएर ल्याएकी थिइन् । भारतको कालिङ्गाबाट हेममालीले लुकाएर श्रीलङ्काको क्यान्डीमा ल्याइपु-याएको त्यो दाँत नै गौतम बुद्धको जीवित अवशेष हो ।”


यही ‘जीवित अवशेष’ लाई केन्द्रमा राखेर निर्माण भएको रहेछ– बौद्ध धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल ‘बुद्धको दाँत भएको मन्दिर’ वा ‘टेम्पल आफ दी सेव्रmेट टुथ रेलिक’ । क्यान्डी सहरमा यो मन्दिर क्यान्डी लेकको किनारमा रहेको छ । क्यान्डी पुगेको जोसुकै नयाँ व्यक्तिको दृष्टि यही मन्दिरमा पुग्छ ।

बुद्धको दाँत भएको मन्दिरको बाहिरी दृश्य भव्य र आकर्षक छ । मन्दिरसँगै नजिकै रहेका छन्– एम्बुलेन्स, वारुणयन्त्र र पुलिस चौकीका कार्यालय । मन्दिरपरिसर प्रवेश गर्ने एकमात्र द्वार छ र यही द्वारबाट कडा सुरक्षा कक्ष हुँदै भित्र प्रवेश गर्नु पर्छ । मन्दिरको सरसफाइ र सुरक्षाव्यवस्था उच्चस्तरको रहेछ । जुनसुकै धर्मावलम्बीका लागि मन्दिरमा प्रवेश खुला रहेछ । मन्दिरमा प्रवेश गर्दा जुत्ताचप्पल लगाउन पाइँदैन । यहाँ दर्शनार्थीको जुत्ताचप्पलको राखनधरन र सुरक्षाको विशिष्ट व्यवस्था रहेछ । मन्दिरमा प्रवेश गर्न टिकट लिनु पर्छ । प्रतिवयस्क टिकट दस्तुर पाँच हजार श्रीलङ्कन पैसा लाग्दो रहेछ ।

यो मन्दिर बाहिरबाट हेर्दा पनि भव्य देखिएको थियो । मन्दिरभित्र प्रवेश गरेपछि यसको आन्तरिक भव्यतासँग परिचित हुन पाइयो । चुस्त व्यवस्थापन । विशाल क्षेत्रफलमा फैलिएको रहेछ यस मन्दिरको परिसर । बौद्धमार्गी त आउने नै भए; विश्वभरका पर्यटक र दर्शनार्थीको राम्रै भिडभाड हुने रहेछ ।

हामी सोझै उत्तरतर्फ लाग्यौँ । पर एउटा भवनमा ठुलो मृत हात्तीलाई कडा सुरक्षाका बिच जस्ताको तस्तै रहने गरी ‘प्रिजर्ब’ राखिएको रहेछ । हात्ती पनि धेरै ठुलो । त्यसमाथि जस्ताको तस्तै राखिएको ! के यस्तो पनि सम्भव छ ? यो असम्भव जस्तै परिदृश्यमा सबैको ध्यान जानु स्वाभाविक नै हो । गोरा पर्यटकको यहाँ राम्रै भिड लागेको थियो ।

हात्ती राखिएको भवननजिकै थियो, आरतीस्थल । यहाँ केही बौद्धमार्गी बत्ती बाल्ने व्रmममा देखिन्थे । बत्ती बाल्ने बौद्धमार्गी मात्र जाने भएकाले आरतीस्थलमा खासै भिड नहुने । 

मन्दिरवरिपरिको क्षेत्र सर्सर्ती घुम्न पनि धेरै समय लाग्ने रहेछ । हामीले क्यान्डीका सबै दर्शनीय स्थल हेर्न÷दर्शन गर्न भ्याउनुपर्ने थियो ! मन्दिरभित्रको मुख्य दर्शनीय पक्ष नछुटोस् भन्ठानेर हामी मूल मन्दिरमा फर्कियौँ र माथिल्लो तलामा गयौँ ।

मन्दिरको माथिल्लो तलामा ध्यानस्थ बौद्धमार्गी ठुलो सङ्ख्यामा थिए । यही तलामा राखिएको रहेछ– गौतम बुद्धको अस्तु । हामी पुग्दा अस्तु÷दाँत राखिएको क्षेत्रको ढोका बन्द थियो । हामीले गौतम बुद्धको ‘जीवित अवशेष’ बुद्धको दाँतको दर्शन गर्न पाएनौँ । हामी पुग्दा यहाँ पर्यटक ठुलो सङ्ख्यामा थिए । बौद्धमार्गी र पर्यटकको सङ्ख्या धेरै थियो तर बिलकुलै शान्त वातावरण । पर्यटक चाहिँ मन्दिरको अन्तःस्थलको भव्यताको फोटो लिन व्यस्त देखिन्थे । 

बौद्धमार्गी यहाँ सेतो तथा गुलाबी कमल र बास्ना आउने फूल सश्रद्धा अर्पण गर्दा रहेछन् । फूल चढाउने होइन; अर्पण गरिने । खास मूर्तिभन्दा वर फराकिलो बेरा रहेछ; श्रद्धालुहरू त्यही बेरामाथिको फराकिलो ठाउँमा आफूसँग भएका फूलहरू जतनसाथ थपक्क राखीदिँदा रहेछन् । यसरी राख्दा फूलको ‘कलर कोड’ मिलाउने प्रयास हुने रहेछ ।  

मन्दिरको माथि र भित्तामा बुद्धकथा झल्काउने चित्र, बुद्धका मूर्तिहरू थिए । मन्दिरको एक कुनामा कालिङ्गाबाट गौतम बुद्धको अस्तु/दाँत यहाँ ल्याइपु-याउने हेमामाली र उनका श्रीमान्को पित्तलको प्रतिमा पनि रहेछ ।

मन्दिरभित्र पनि फोटो खिच्न पाइने रहेछ तर बुद्धको मूर्तिलाई पृष्ठभागमा राखेर फोटो खिच्नु हुँदैन भन्ने रहेछ; यो सबैले परिपालना गर्नुपर्ने नियम रहेछ ।

युनेस्कोले सन् १९९८ देखि यस मन्दिरलाई ‘विश्व सम्पदा सूची’ मा राखेको पाइयो ।